विद्यालय परिसरबाट रुख कटानी गरी अवैध काठ ढुवानी, चालक पक्राउ

रातोघर

 २०८२ अषाढ २०, शुक्रबार  मा प्रकाशित
४४८ पाठक संख्या


निजगढ, बारा बारागढी गाउँपालिका–३ खोपवास्थित सडक खण्डबाट प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिसरबाट काटिएका रुखहरू ढुवानी गरिरहेको खुलेको छ।

इलाका प्रहरी कार्यालय बारागढीका अनुसार वीरगञ्ज महानगरपालिका–९ का ४५ वर्षीय नन्दलाल महरा चमार चालक रहेको ज।१ त ८८५० नम्बरको ट्याक्टर गंजभवानिपुरबाट मलाहीतर्फ जाँदै गर्दा चेकजाँचका क्रममा रोकीएको थियो। सो ट्याक्टरमा मसाला प्रजातिका काठहरू फेला परेपछि प्रहरीले ट्याक्टरसहित काठ नियन्त्रणमा लिएको हो। बरामद काठ झण्डै ९० क्युफिट रहेको र यसको बजार मूल्य करिब २ लाख रुपैयाँ रहेको जनाइएको छ।

प्रहरीले उक्त काठ र ट्याक्टरलाई थप अनुसन्धानका लागि कोल्हवी सब डिभिजन वन कार्यालयमा बुझाएको छ। अनुसन्धानको क्रममा ती काठहरू प्लान इन्टरनेश्नलले विद्यालय परिसरमा रोपेका ३० वटा रुख काटेर निकालिएको खुलेको छ।

वडा अध्यक्षकै सिफारिसमा रुख कटान
वडा नं। १० का अध्यक्ष संजय पटेलले विद्यालयको पछाडिको जग्गामा रहेका मसाला, सिरीस, बकायन र सिमल जातका रुखहरू विद्यालयकै सिफारिसमा फर्निचर उद्योगलाई बिक्री गरिएको बताएका छन्। उनका अनुसार, “विद्यालयको सिफारिसअनुसार ओम नमः शिवालय स मिल, कलैयालाई रु २ लाखमा ती रुख बिक्री गरिएको हो।” सिफारिसमा जनाइएको विवरणअनुसार बिक्रीबाट प्राप्त आम्दानीमध्ये ६० प्रतिशत विद्यालयको नाममा र ४० प्रतिशत संरक्षण समितिलाई दिने सहमति गरिएको थियो। तर सार्वजनिक जग्गाबाट यस्ता रुख कटानी गर्न मिल्दैन भन्ने कानुनी जानकारी नभएको उनले दाबी गरेका छन्।

कानुनी प्रक्रिया बिनै ढुवानी, अवैध कारोबारको संकेत
यस घटनाबाट सार्वजनिक विद्यालय क्षेत्रभित्र रोपिएका रुखहरू कानुनी प्रक्रिया विना काटी काठ अवैध रूपमा बिक्री तथा ढुवानी गरिएको पुष्टि भएको छ। अब यसमा संलग्न व्यक्तिहरूको भूमिका, काठ बिक्रीको वास्तविक प्रक्रिया तथा वन ऐन उल्लंघनसम्बन्धी पक्षहरूमा थप अनुसन्धान हुने जनाइएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban