

सिमरा — लामो समयदेखि स्थगित रहेको मधेश प्रदेशसभाको बैठक आइतबार पुनः बस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि तोकिएको छ।
यसअघि असार १२ गतेका लागि बोलाइएको पाँचौँ अधिवेशनको १३औँ बैठक सुरु हुनुअघि नै सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। उक्त बैठकको कार्यसूचीमा आर्थिक वर्ष २०८२र८३ को राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु गर्ने कार्यक्रम तय गरिएको थियो।
सभामुख रामचन्द्र मण्डलले सांसदहरूलाई बजेटसम्बन्धी रेडबुक अध्ययन गर्न समय आवश्यक परेको भन्दै बैठक स्थगित गरेका थिए। असार ११ गतेको १२औँ बैठकमा सांसदहरूलाई रेडबुक वितरण गरिएको थियो तर सो बैठकमा केवल दुई सांसद मात्र छलफलमा सहभागी हुन पाएका थिए।
बजेटबारे पर्याप्त तयारी नभएको भन्दै सभामुखले बैठक एक दिनपछि डाक्ने निर्णय गरे पनि अन्ततः अनिश्चितकालका लागि स्थगित गरिएको थियो। आजको बैठकमा भने स्थगित गरिएको छलफललाई निरन्तरता दिइनेछ।





Write your Comment