

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगरको बजेट प्रक्रिया आफूका कारण अवरुद्ध हुन नहुने स्पष्ट पारेका छन्।
आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू बजेट पारित हुनुपर्ने पक्षमा रहेको बताएका थिए। “म बजेट आउनुपर्छ भन्नेमा छु,” गुरागाईंले भने, “मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल तथा जनप्रतिनिधिहरूको निर्णयमा म बाधक बन्ने पक्षमा छैन।”
तर, बजेटसँग काठमाडौँ टावरको विषय जोडेर अनावश्यक विवाद सिर्जना गर्न खोजिएको भन्दै उनले त्यसमा कुनै सम्बन्ध नरहेको दाबी गरे। “कसैले ‘तँ भ्रष्टाचारी हो’ भनेर भन्यो भन्दैमा कोही भ्रष्टाचारी हुन्न,” उनले जोड दिए।
हाल काठमाडौँ महानगरमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बजेट पारित प्रक्रियामा ढिलाइ भएको छ। यस्तो बेला गुरागाईंले आफूलाई दोषी देखाउने प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन्।
उनले काठमाडौँ टावरसँग सम्बन्धित विषयमा निर्णय पहिले नै भइसकेको र आफूले त्यसबारे प्रमाणपत्र मात्रै दिएको उल्लेख गरे। साथै, यसअघि पनि विभिन्न समाचारमार्फत आफ्ना विरुद्ध लगाइएका आरोपको खण्डन भइसकेको भन्दै, पटक–पटक आफूलाई नै लक्षित गरी हमला किन भइरहन्छ भन्नेमा आफू अन्योलमा परेको प्रतिक्रिया दिए।





Write your Comment