वडालाई अन्याय गरेको भन्दै पूर्व वडाअध्यक्ष बजगाईंको बजेट बाँडफाँडप्रति आपत्ति

रातोघर

 २०८२ अषाढ २२, आईतबार  मा प्रकाशित
६२७ पाठक संख्या


सिमरा, बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा आगामी आर्थिक वर्षका लागि तय गरिएको बजेट सिलिङ्गप्रति वडा नम्बर १६ का पूर्व वडाध्यक्ष केदार बजगाईंले कडा आपत्ति जनाएका छन । उनले सामाजिक सञ्जालमार्फत बजेट बाँडफाँडको तरिका एकपक्षीय र अन्यायपूर्ण भएको भन्दै गुनासो पोखेका छन् ।

पूर्व अध्यक्ष बजगाईंका अनुसार उपमहानगरका अन्य वडाहरुको तुलनामा वडा नम्बर १६ लाई अत्यन्त न्यून बजेट विनियोजन गरिएको छ । कुल २० करोड रुपैयाँको सिलिङ्ग बजेटमध्ये वडा नम्बर १६ ले मात्र ८६ लाख १५ हजार ८ सय २९ रुपैयाँ पाएको जनाउँदै उनले यति ठूलो वडालाई यस्तो थोरै बजेट छुट्याउनु निन्दनीय भएको बताएका छन्।

उनका अनुसार १६ नम्बर वडाको टाँगिया बस्तीमा मात्रै करिब ९७०० जनसंख्या रहेको छ भने पसाहा र वारी क्षेत्रसम्म समेट्दा कूल जनसंख्या २१ हजार ७ सय र ३३५३ घरधुरी रहेका छन्। यस्तो ठूलो वडामा आवश्यक पूर्वाधार, सडक, खानेपानी, विद्यालय, स्वास्थ्य, सरसफाइ लगायतका सेवाका आवश्यकता रहेकाले थोरै बजेटले नागरिकको अपेक्षा सम्बोधन गर्न नसकिने उनले बताए।

“वडा तहमै यस्तो विभेदपूर्ण बजेट वितरण गरिएको छ भने नगरस्तरीय योजना कस्तो होला भन्ने थप चिन्ता छ,“ बजगाईंले भने, “नगरप्रमुख, उपप्रमुख समक्ष आग्रह गर्छु — १६ नम्बर वडालाई कम्तिमा २ करोड रुपैयाँ माथिको सिलिङ्ग बजेट व्यवस्था गरियोस्।“ उनले बजेट पुनरावलोकन गरी जनसंख्या, क्षेत्रफल र आवश्यकता अनुसार न्यायोचित ढंगले बाँडफाँड गर्न नगर नेतृत्वसँग आग्रह गरेका छन्।

केदार बजागाई २०७४ को स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रबाट उमेदवार भई वडाअध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी माओवादी केन्द्र पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा सक्रिय राजनितिक गरि रहेका छन् ।

बजेट बाँडफाँडका विषयमा अन्य वडाबाट पनि असन्तुष्टिका स्वर उठ्न थालेका छन्। वडा नं.१६ का वडाअध्यक्ष हरिदेव खरेलले समेत सामाजिक सञ्जाल मार्फत आफ्नो वडालाई विभेद गरेको भन्दै बजेट बाँडफाँडमा पुनरावलोकन गरिनु पर्ने माग सहित आलोचना गरेका छन् ।

जनप्रतिनिधिहरूबीच विवादका कारण यसअघि स्थगित नगरसभा हाल असार २५ गते बोलाइएको छ। अब यो नगरसभामा बजेटको पुनरावलोकन हुने हो या पुरानै प्रस्ताव पास हुने भन्ने चासो समेत देखिएको छ।

उपमहानगरपालिकाको कार्यालयले भने वडाको सिलिङ्ग  बजेट बाँडफाँड बिषयमा जनप्रतिनिधीहरु बिच भएको समहती र सुत्रको आधारमा  बाँडफाँड गरिएको दाबी गरेको छ । भुगोलको आधारमा २० प्रतिशत,जनसंख्याको आधारमा ३० प्रतिशत र वडाबाट संकलन हुदैं आएको राजस्वको आधारमा ५० प्रतिशत अनुसार २४ वडालाई सामान तरिकाले समहतीको आधारमा वडाको बजेट बाँडफाँड गरिएको उपमहानगरले जनाएको छ ।


Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban