जीतपुरसिमरा उपमहानगरको नगरसभा असार २५ गते बस्दै, २ अर्ब १ करोडको बजेट प्रस्ताव

रातोघर

 २०८२ अषाढ २३, सोमबार  मा प्रकाशित
२६३ पाठक संख्या


बारा, जीतपुर — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सम्बन्धी सहमति बनेसँगै जीतपुरसिमरा उपमहानगरपालिकाले बाह्रौं नगरसभाको दोस्रो बैठक असार २५ गतेका लागि बोलाएको छ। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले सूचना जारी गर्दै बैठकको मिति सार्वजनिक गरेका हुन्।

यसअघि असार ९ गते सुरु भएको नगरसभाको पहिलो बैठक उद्घाटन सत्रमै स्थगित भएको थियो। त्यस्तै असार १८ मा तय गरिएको दोस्रो बैठक पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।सहमति अनुसार, उपमहानगरपालिकाले आगामी वर्षको बजेट २ अर्ब १ करोड रुपैयाँको बनाउने भएको छ। त्यसमध्ये ४२ करोड रुपैयाँ रकम बाँडफाँड योग्य हुनेछ। बजेटको बाँडफाँडबारे स्पष्ट सहमति बनेसँगै नगरसभा सञ्चालनको बाटो खुलेको हो।

नगर प्रमुख राजन पौडेलको हिस्सामा १४ करोड रुपैयाँ पर्नेछ। उनले प्रत्येक वडा क्षेत्रमा न्यूनतम २५ लाख रुपैयाँका योजना समावेश गर्नुपर्नेछ। उपप्रमुख भोलाप्रसाद अधिकारीले ६ करोड ६० लाख रुपैयाँ प्राप्त गर्नेछन्, जसबाट प्रत्येक वडामा १० लाखका योजना राख्नुपर्ने व्यवस्था गरिएको छ। यी योजनाहरू वडाहरूको सिफारिसको आधारमा तय गरिनेछ।

२४ वटा वडाहरूका लागि २० करोड रुपैयाँ छुट्याइएको छ भने वडाहरूको जनसंख्या र भूगोलका आधारमा बजेट बाँडफाँड गरिने जानकारी दिइएको छ।यस्तै, कार्यपालिका सदस्यहरूलाई पनि छुट्टै बजेट विनियोजन गरिएको छ। सात जना सदस्यलाई जनही २० लाखका दरले १ करोड ४० लाख रुपैयाँ बजेट प्रदान गरिनेछ।

उक्त नगरसभाबाट नीति तथा कार्यक्रम, बजेट तथा सम्बन्धित विधेयकहरू पारित हुने सम्भावना रहेको बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban