वीरगञ्जमा पत्रकारमाथि दुर्व्यवहार : स्वास्थ्य कार्यालय पर्साका अधिकृत पक्राउ

रातोघर

 २०८२ अषाढ २४, मंगलबार  मा प्रकाशित
२८३ पाठक संख्या


वीरगञ्ज – पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आधा दर्जनभन्दा बढी पत्रकारहरूले उजुरी दिएपछि ठाकुरलाई सोमबार नियन्त्रणमा लिइएको हो। उजुरीमा ठाकुरले मादक पदार्थ सेवन गरेर गालीगलौज तथा अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको उल्लेख गरिएको छ।

घटना असार २२ गते (आइतबार) वीरगञ्जस्थित क्लासिक ब्यांक्वेटमा भएको हो। स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको स्वास्थ्यसम्बन्धी तालिमको समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि ठाकुरले दुर्व्यवहार गरेका थिए भन्ने आरोप छ।

पर्साका एक पत्रकारका अनुसार, चलचित्र पत्रकार संघको अर्को कार्यक्रमका लागि उक्त होटलमा पुगेका पत्रकारहरू भूलवश स्वास्थ्य कार्यालयको कार्यक्रममा प्रवेश गरेपछि ठाकुर आक्रोशित बनेका थिए। त्यसपछि उनले असभ्य व्यवहार गरेका थिए।

घटना सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ मधेस प्रदेश, जिल्ला शाखा पर्सा, प्रेस चौतारी नेपाल पर्सा, प्रेस सेन्टर नेपाल पर्सा, नेपाल प्रेस युनियन पर्सा र समाजवादी प्रेस संगठन नेपाल पर्सा लगायतका पत्रकार संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ठाकुरमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्।नेपाल पत्रकार महासंघ पर्साका सचिव तथा प्रवक्ता विजय महतोका अनुसार, प्रारम्भिक छलफलबाट निष्कर्ष ननिस्केपछि प्रहरीले ठाकुरलाई नियन्त्रणमा लिएको हो।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban