असार २५ मा मात्रै २२ अर्ब खर्च : सरकारको बजेट घाटा ३ खर्ब ७४ अर्ब

रातोघर

 २०८२ अषाढ २६, बिहिबार  मा प्रकाशित
२७६ पाठक संख्या


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन असार २५ मा सरकारले एकैदिन झण्डै २२ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सो दिन मात्रै २१ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरिएको हो।
चालु आर्थिक वर्षको पुँजीगत बजेट ३ खर्ब ५२ अर्बमध्ये असार २५ सम्ममा २ खर्ब ८ अर्ब ३४ करोड रुपैयाँ खर्च भइसकेको छ। यो कुल पुँजीगत बजेटको ५९.१३ प्रतिशत हो। सरकारले चालुतर्फ ८५.८२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ८६.५६ प्रतिशत खर्च गर्न सफल भएको छ।
बुधवार (असार २५) सरकारको भुक्तानीको अन्तिम दिन थियो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदा सरकारी खाता रोक्का हुने प्रावधान छ। यही कारण अन्तिम दिन ठूलो रकम खर्च भएको हो।
गत वर्षको तुलनामा यो खर्च उल्लेखनीय छ। २०८० सालको असार २५ मा १४ अर्ब ४० करोड रुपैयाँ र असार २४ मा १९ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको थियो।
महालेखाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले कुल १५ खर्ब ५ अर्ब रुपैयाँ खर्च गरेको छ। तर, सरकारले कुल १८ खर्ब ६० अर्ब खर्च गर्ने लक्ष्य राखेको थियो। सोही अनुसार हालसम्मको खर्च ८०.९१ प्रतिशत मात्र पुगेको छ।
राजस्व संकलनतर्फ पनि लक्ष्य अनुरूप प्रगति हुन सकेको छैन। सरकारले चालु वर्षमा १४ खर्ब १९ अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा असार २५ सम्ममा १० खर्ब ९७ अर्ब मात्रै उठेको छ। कर राजस्व ७७.३९ प्रतिशत र गैर-कर राजस्व ७६.८७ प्रतिशतमा सीमित भएको छ।
सरकारको कुल आम्दानी र खर्चको समीक्षाबाट चालु वर्षमा ३ खर्ब ७४ अर्ब रुपैयाँ बजेट घाटा देखिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban