

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको समान विकासबिनाको समृद्धि दीर्घकालीन हुन नसक्ने भन्दै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न सबैलाई आग्रह गरेका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय जनसङ्ख्या नीति २०८२ सार्वजनिक गर्दै यस्तो धारणा राखेका हुन्।
प्रधानमन्त्री ओलीले “जनसङ्ख्या र विकासको गति एकआपसमा समन्वयित हुनुपर्छ,” भन्दै मानव जातिको अस्तित्व जोगाउन सन्तुलित जनसङ्ख्या वृद्धि आवश्यक रहेको बताए। उनले भने, “मानिस भएकाले देश र धर्तीको अर्थ छ, तर जनसङ्ख्या नै नभए देशको अस्तित्वको अर्थ छैन।” उनले मानव सभ्यताको रक्षाका लागि सकारात्मक नीति र व्यवहार आवश्यक रहेको बताए।प्रधानमन्त्री ओलीले जनसङ्ख्याका नाममा गोष्ठी र सेमिनार त गरिन्छ, तर अर्कोतर्फ जनसंहारका हतियार निर्माण गरेर मानवता नै नाश गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाए।
कानुनी विवाह उमेर र प्रधानमन्त्रीको सन्देशस्
प्रधानमन्त्रीले सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको उल्लेख गर्दै समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्ने व्यवहार अपनाउन आग्रह गरे। उनले “चालीस कटेपछि रमाउने गीतमा अल्झनु हुँदैन” भन्दै व्यंग्य पनि गरे। उनले चेतावनी दिए, “सन्तानले डाँडाकाँडा ढाकुन् भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर अहिले सन्तानै नहुने स्थिति आइरहेको छ। यो गम्भीर हो।”
सन्दर्भ:
प्रधानमन्त्री ओलीको भनाइमा विकसित मुलुकहरूमा ऋणात्मक जनसङ्ख्या वृद्धि को असरले मानव अस्तित्व नै संकटमा परिरहेको उल्लेख गरिएको थियो। उनले यस्तो अवस्थाबाट बच्न राष्ट्रिय जनसङ्ख्या नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको जोड दिए।





Write your Comment