एमाले दोस्रो विधान महाधिवेशन तयारीमा, वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्तावमाथि बहस

रातोघर

 २०८२ श्रावण १, बिहिबार  मा प्रकाशित
२६६ पाठक संख्या


काठमाडौं । सत्तारुढ नेकपा (एमाले) आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने दोस्रो विधान महाधिवेशनको तयारीमा जुटेको छ। महाधिवेशनमा पेश गरिने प्रस्तावको मस्यौदा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेका छन्। आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकबाट उक्त मस्यौदामाथि औपचारिक छलफल सुरु हुँदैछ।पार्टी स्रोतका अनुसार, महाधिवेशनले पार्टीको संरचना, नेतृत्व पद संख्या तथा भूमिका पुनर्संरचना गर्ने अपेक्षा गरिएको छ। विशेषगरी, वरिष्ठ उपाध्यक्ष पद हटाएर सहअध्यक्ष पद ल्याउनेबारे गम्भीर बहस चलिरहेको छ।एक पदाधिकारीले भने, ”हामीले जनसंगठनहरूमा वरिष्ठ पद हटाइसकेका छौँ। अब पार्टीमा पनि त्यसलाई निरन्तरता दिने कि भन्ने छलफलमा छौँ। सहअध्यक्ष पदमार्फत सन्तुलन कायम गर्ने प्रस्ताव विचाराधीन छ।”

भण्डारी र पोखरेलको व्यवस्थापन प्रमुख विषय
एमालेमा अहिले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल छन्। तर, ११ औं महाधिवेशनपछि सक्रिय राजनीतिमा फर्केकी पूर्वराष्ट्रपति विद्या भण्डारीको व्यवस्थापनका लागि नयाँ सहअध्यक्ष पद सिर्जना गर्ने तयारी गरिएको बताइएको छ। भण्डारीका निकट मानिने पोखरेलको भूमिकाबारे पनि नेतृत्वमा स्पष्ट योजना आवश्यक हुने देखिएको छ।यदि वरिष्ठ उपाध्यक्ष पद हटाएर सहअध्यक्ष पद ल्याइयो भने, पोखरेललाई पनि उपयुक्त भूमिकामा व्यवस्थापन गर्नुपर्ने नेतृत्वलाई दबाब पर्ने देखिन्छ।

उमेर हद र कार्यकाल सिमाको बहस
भण्डारीको सक्रियता बढेसँगै एमालेभित्र ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा हटाउने विषयमा तीव्र बहस भइरहेको छ। एमालेले महाधिवेशनमार्फत यी व्यवस्था हटाई केपी शर्मा ओलीलाई निरन्तर नेतृत्व दिन र भण्डारीका लागि नयाँ पद सिर्जना गर्ने गरी ुमिलनबिन्दुु खोज्ने प्रयास गरिरहेको छ।

पार्टी संरचना र बैठकको तालिका
हाल एमालेमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, र सचिव ७ जना रहेका छन्। विधान संशोधनको मस्यौदामाथि छलफल गर्न सचिवालयपछि भोलि पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय भएको छ।प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, केन्द्रीय सदस्यहरूले मस्यौदामा सुझाव दिनेछन्। त्यसपछि मस्यौदालाई प्रदेश र जिल्ला कमिटीमा पठाइनेछ, र सबैको सुझाव समेटेर अन्तिम प्रस्ताव महाधिवेशनमा प्रस्तुत गरिनेछ। साउन ५ देखि भदौ ५ गतेसम्म सुझाव सङ्कलन गरिनेछ।

उमेर हद हटाउने प्रस्ताव
महासचिव शंकर पोखरेलले पनि विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने स्पष्ट गरेका छन्। उनले हाल स्थगित उक्त प्रस्तावलाई महाधिवेशनमार्फत अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व भएको उल्लेख गरेका छन्।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban