

कलैया, बारा — बाराको कलैयामा लामो समयदेखि विद्युत आपूर्तिमा देखिएको अव्यवस्थाको विरोधमा बिहीबार सचेत नागरिक समूहले विरोध प्रदर्शन गरेका छन्। विद्युत सेवा नियमित नहुँदा सर्वसाधारण, किसान, विद्यार्थी र अस्पतालहरू प्रभावित हुँदै आएपछि समस्या समाधानको माग गर्दै उनीहरूले सडकमा उत्रेर आक्रोश व्यक्त गरेका हुन्।
नेपाल विद्युत प्राधिकरणको कलैया वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउन गएका प्रदर्शनकारीहरू कार्यालय प्रमुख अनुपस्थित भएपछि थप आक्रोशित बने। प्रमुख अनुपस्थित रहेको भन्दै उनीहरूले वितरण केन्द्रको अगाडि नै नारा जुलुससहित प्रदर्शन गरेका थिए।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सभापति चन्दन स्वर्णकारको नेतृत्वमा प्रदर्शनकारीहरू “औपचारिक लोडसेडिङ बन्द गर”, “बिना कारण लाइन काट्न पाइँदैन”, “जनतालाई दुःख दिन पाइँदैन” जस्ता नाराहरू लगाउँदै सडकमा उत्रेका थिए।
प्रदर्शनको क्रममा प्रहरी र नागरिक समूहबीच केहीबेर भनाभन समेत भएको थियो। स्थिति तन्किन थालेपछि प्रदर्शनकारी अगुवा चन्दन स्वर्णकार र विक्रम यादवलाई प्रहरीले केही समयका लागि नियन्त्रणमा लिएको थियो। तर स्थिति सामान्य भएपछि उनीहरूलाई रिहा गरिएको स्वर्णकारले जानकारी दिए।स्वर्णकारका अनुसार अघोषित रूपमा भइरहेको लोडसेडिङले कलैयाको सामान्य जनजीवन प्रभावित पार्नुका साथै कार्यालयीन कामकाज, शिक्षण संस्था, स्वास्थ्य सेवा तथा कृषकहरूको दैनिक क्रियाकलापमा गम्भीर असर परेको छ। “यो समस्या अब व्यक्तिगत नभई सम्पूर्ण बारावासीको साझा पीडा हो,” उनले भने।
विरोध कार्यक्रममा चन्दन स्वर्णकारसहित भोला साह कानु, सञ्जीव यादव, लालमुकेश ठाकुर, विनय जैसवाल, उमेश महतो, कबिराज चौधरी, प्रमोद सर्राफ, ज्याउद्दिन अन्सारी, आबिद मन्सुर, राजीव यादवलगायत दर्जनौं सेवाग्राहीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले यथाशीघ्र समस्या समाधान नभए थप चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।





Write your Comment