

रुपन्देही — उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने धारणा व्यक्त गरेका छन्। बुधबार गृह जिल्ला रुपन्देहीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले दलगत राजनीतिमा संलग्न नहुन भण्डारीलाई पार्टीको स्पष्ट सन्देश रहेको बताए।
उनले भने, ”देशकै मुख्य पदमा पुग्नुभएको व्यक्ति दलको राजनीतिमा आउनु हुँदैन भन्ने पार्टीको निष्कर्ष हो। उहाँ सबैको अभिभावक हुनुहुन्छ, पार्टीका लागि ठूलो योगदान दिनुभयो, त्यसकै आधारमा राष्ट्रपति बनाइएको हो। अब सिंगो देशको अभिभावकको भूमिकामा रहनुपर्छ।”
पौडेलले नेकपा एमालेको पछिल्लो बैठकले पनि यसै एजेण्डालाई पारित गरेको जानकारी दिए। उनले संविधान अनुसार गणतन्त्रको राष्ट्रपति कुनै दल विशेषको हुनु नहुने स्पष्ट अवधारणामा पार्टी पुगिसकेको बताए।पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरणको विषयमा पनि प्रष्ट पार्दै उनले भने, ”सदस्यता नवीकरण भन्ने व्यवस्था हाम्रो पार्टीमा छैन। एक पटक परित्याग गरिएको सदस्यता स्वतः नवीकरण हुँदैन, नयाँ प्रक्रियाबाट जानुपर्छ।”
उनले एमालेलाई कमजोर बनाउने र विग्रह ल्याउने प्रयास विगतदेखि हुँदै आएको आरोप लगाए। ”एमालेको आन्तरिक जीवन हामी आफैँले व्यवस्थित गर्छौं, अरूले चिन्ता लिनु आवश्यक छैन,” उनले दोहोर्याए।पार्टीको विधान संशोधन सम्बन्धी विषयमा पौडेलले सबैको सुझाव मागिएको र प्रस्तावित मस्यौदामा आवश्यक सुधार गरिने बताए।
पार्टी नेतृत्वको उमेर हदबारे टिप्पणी गर्दै उनले भने, ”७० वर्षे उमेर सीमा राख्ने प्रस्ताव सचिवालयमा थियो, तर आवश्यकताका आधारमा हटाइएको हो। अन्तर्राष्ट्रिय अनुभवले पनि देखाएको छ — नेतृत्व विचार र क्षमताले चल्छ, उमेरले होइन।” त्यस्तै, एमालेको विधानमा रहेको दुई कार्यकालको सीमा हटाइएको विषयमा पौडेलले ‘त्यो पनि आवश्यकताका आधारमा गरिएको’ स्पष्ट गरे। ”यदि योगदानका आधारमा निरन्तरता आवश्यक देखियो भने त्यसअनुरूप व्यवस्था गरिएको हो,” उनले भने।





Write your Comment