

कामचाट्का, रूस — रसियाको सुदूरपूर्वी क्षेत्रमा मंगलबार भएको विमान दुर्घटनामा सबै २८ जनाको मृत्यु भएको छ। कामचाट्काबाट पालाना गन्तव्यका लागि उडेको एएन–२६ विमान पालाना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाको बेलामा विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको र त्यसपछि विमानस्थलसँगको सम्पर्क विच्छेद भएको अधिकारीहरूले जनाएका छन्। विमानमा एक बालकसहित २२ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।
दुर्घटनास्थलमा विमानका भग्नावशेषहरू समुद्र, पहाड र विमानस्थलको आसपासमा फेला परेका छन्। कामचाट्का नागरिक उड्डयन संस्थाका उपनिर्देशक सर्गेई गोर्बका अनुसार विमान समुद्रको चट्टानी भागमा ठोक्किएको थियो।
रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम र प्राविधिक गडबडीका सम्भावनालाई ध्यानमा राखेर अनुसन्धान सुरु गरेको छ। उल्लेखनीय छ, यसै मार्गमा अघिल्ला वर्षहरूमा पनि यस्ता दुर्घटनाहरू भइसकेका छन्।





Write your Comment