

निजगढ । बाराको निजगढ नगरपालिका र सिंगौल क्षेत्रका किसानहरू यतिबेला युरिया र डिएपी मलको चरम अभाव झेलिरहेका छन्। केरा, धान र हाइब्रिड मकै खेती गर्ने स्थानीय किसानहरू मल अभावका कारण अत्यन्तै पीडित बनेका छन्।
विशेषगरी निजगढ नगरपालिका वडा नं. १, २ र ३ अन्तर्गतको सिंगौल क्षेत्रमा करिब ८० प्रतिशत कृषियोग्य जमिनमा केरा खेती हुँदै आएको छ। व्यवसायिक रूपमा केरा खेती गर्दै आएका किसानहरू युरिया र डिएपी मल नपाएर उत्पादन घट्ने डरमा छन्। धान रोपिसकेका किसानले मलको कमीले बोट सुक्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।स्थानीय किसान गोरोख राईले भने, “हामीजस्ता साना किसान हिउँदमा मकै लगाउँछौं, तर युरिया नै पाउँदैनौं। सहकारी र वडाअध्यक्षहरूको चलखेलले हामीजस्ता किसानहरू पछि परेका छौं।
” उनका अनुसार सहकारी संस्था र वडास्तरीय नेताहरूले अनुदानको मल आफ्ना मान्छेहरूलाई प्राथमिकता दिने गरेका छन्।किसानहरूको गुनासो अनुसार, सिमा क्षेत्रबाट अवैध रूपमा आउने मल पनि हाल कडाइका साथ नियन्त्रणमा लिइँदै आएकोले अभाव अझ चुलिएको छ। पहिला चोरी पैठारी भएर सिंगौलसम्म पुग्ने मल अहिले बोर्डरमै रोकिएको छ।सरकारी मल नपाउँदा किसानहरू बाध्यतावश भारतीय मल महँगो मूल्यमा खरिद गरिरहेका छन्। हाल एक बोरा भारतीय युरिया मल रु १६०० सम्ममा पर्न गएको किसानहरूले बताएका छन्।
पहिले यही मल सस्तोमा सहज रूपमा पाइन्थ्यो।कृषि शाखाले १० वर्षअगाडि केन्द्रमा पठाएको विवरणलाई आधार मानेर अहिले पनि मल आपूर्ति भइरहेकाले वास्तविक आवश्यकताअनुसार वितरण हुन नसकेको किसानहरूको गुनासो छ।त्यस्तै, स्थानीय व्यापारीहरूका अनुसार प्रहरीले भारतीय मल ल्याउनेहरूलाई पक्राउ गर्न थालेपछि उक्त मलको आपूर्ति पनि घटेको छ। यसले बजारमा मूल्य बढाएको छ।नगरपालिका र केन्द्र सरकारले वास्तविक तथ्याङ्कअनुसार मल आपूर्ति नगरेको, अनुदानमा कटौती गरेको तथा वितरणमा पारदर्शिता नरहेको आरोप किसानहरूले लगाएका छन्।
मुख्य समस्या :
. युरिया र डिएपी मलको अभाव
. सहकारी र नेताहरूको मिलेमतोमा पक्षपातपूर्ण वितरण
. सीमाबाट आउने मलमा कडाइ
. अनुदानको कटौती र वितरणमा पारदर्शिता नहुनु
. सरकारी आपूर्तिको आधार पुरानो तथ्यांक
किसानको माग :
. वास्तविक आवश्यकताको मूल्याङ्कन गरेर मल आपूर्ति
. पारदर्शी वितरण प्रणाली
. सीमामा नियन्त्रणको सन्तुलन
. साना तथा व्यवसायिक किसानलाई समान पहुँच





Write your Comment