

चितवन । चितवनमा देखिएको विद्युत आपूर्तिको समस्याबारे जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहान भरतपुर आएका छन्।
चनौली सबस्टेशनले लाइन कटौतीको सूचना जारी गरेपछि लोडसेडिङको आरोप लाग्दै आलोचना बढेपछि शाक्य आफैं स्थलगत निरीक्षणमा आएका हुन्।उनका सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार, शाक्यले भरतपुरको अवस्थाबारे जानकारी लिएपछि राप्तीस्थित हर्दी सबस्टेशन पुग्ने छन्।
हर्दीमा हालै २४ एमभीएको ट्रान्सफर्मर जडान गरिएको छ, जसको परीक्षण सफल भएको छ। अब केही प्राविधिक प्रक्रिया सकिएपछि सो सबस्टेशनबाट पूर्वी चितवनलाई विद्युत आपूर्ति गरिनेछ।यसबाट टाँडी, खैरहनी, चैनपुर क्षेत्रलाई हर्दीबाटै सप्लाई दिइनेछ भने भरतपुरको लोड घटेर देवनगर, जगतपुर र माडी क्षेत्रको आपूर्ति सहज हुने प्राधिकरणले जनाएको छ।
गर्मी बढेसँगै चितवनका विभिन्न क्षेत्रमा विद्युत समस्या तीव्र बनेको थियो। मंगलबारसम्म समस्या समाधान हुने विश्वास प्राधिकरणको छ।





Write your Comment