डिपबोरिङमा अवैध हुकिङ बढेपछि प्राधिकरणको चेतावनी

रातोघर

 २०८२ श्रावण १२, सोमबार  मा प्रकाशित
२५७ पाठक संख्या


वीरगञ्ज — पर्सा जिल्लामा डिपबोरिङमार्फत खानेपानी तान्ने क्रममा विद्युत् पोलबाट अवैध रूपमा ‘हुकिङ’ गरी विद्युत् प्रयोग गर्ने प्रवृत्ति बढेसँगै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले एक साताभित्र मिटर नजडान गर्ने उपभोक्ताको लाइन काट्ने चेतावनी दिएको छ।

प्राधिकरणका वितरण केन्द्र प्रमुख अवधेशकुमार दुवेका अनुसार अबदेखि खानेपानी तथा सिँचाइका लागि अनिवार्य रूपमा मिटर जडान गर्नुपर्नेछ। “उपभोक्ता समितिहरूले आवश्यक कागजात लिएर आएमा २४ घण्टाभित्र मिटर जडान गरिदिने व्यवस्था मिलाइएको छ,” उनले बताए। “अब अवैध हुकिङ कार्य सह्य हुने छैन।”उनका अनुसार अवैध हुकिङका कारण विद्युत् प्रणालीमा ओभर ट्रिपिङ, सर्ट सर्किट र चुहावटजस्ता समस्या देखिन्छन्, जसले समग्र आपूर्तिमा असर पारिरहेको छ। त्यसैले मिटरविना सञ्चालन गरिएका डिपबोरिङ लाइनहरू एक साताभित्र हटाइने उनले स्पष्ट पारे।

यही सन्दर्भमा वीरगञ्ज महानगरपालिका–९, रानीघाटका वडा सदस्य हिरालाल ठाकुरले नगरवासीलाई मिटर जडान गरेर मात्र डिपबोरिङ सञ्चालन गर्न आग्रह गरेका छन्। “मिटर प्रयोग गरेमा विद्युत् कानुनी ढंगले उपभोग गर्न सकिन्छ र प्राविधिक जोखिम पनि घट्छ,” ठाकुरले भने।

प्राधिकरणले अवैध हुकिङविरुद्ध स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी निगरानी र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। साथै, उपभोक्तालाई यथाशीघ्र मिटर जडान गरी कानुनीरूपमा सेवा लिन पुनः अपील गरिएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban