एनआरएनए टेक्सास च्याप्टरको अध्यक्षमा निलेश श्रेष्ठ निर्वाचित

रातोघर

 २०८२ श्रावण १४, बुधबार  मा प्रकाशित
२२३ पाठक संख्या


ड्यालस (अमेरिका) — गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद् अन्तर्गत टेक्सास च्याप्टरको अध्यक्ष पदमा निलेश श्रेष्ठ विजयी भएका छन्। जुलाई २७ र २८ मा सम्पन्न निर्वाचनमा श्रेष्ठले ७८५ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वीहरूलाई पछि पारेका हुन्।

श्रेष्ठका प्रतिस्पर्धी गोविन्द गौतमले ६२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार ईश्वर ढकालले ७२ मत ल्याएका थिए। निर्वाचन समितिका अनुसार १८ मत ”कसैलाई पनि मतदान गर्दिन” भन्ने श्रेणीमा परेका थिए।यसअघि अध्यक्षबाहेक टेक्सास च्याप्टरका अन्य सबै पदका उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका थिए।निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले टेक्सास च्याप्टरलाई नेपाली समुदायको केन्द्र बनाउने प्रतिबद्धता जनाए। उनले भने, ”हामी मतदातालाई मात्र निर्वाचनको समयमा भेट्ने प्रवृत्तिको अन्त्य गर्दै सम्पूर्ण टेक्सासका नेपालीहरूसँग निरन्तर सम्बन्ध विस्तार गर्दै अघि बढ्नेछौं।”

श्रेष्ठले ड्यालस–फोर्टवर्थ क्षेत्रमा सीमित नरही टेक्सासभर कार्यक्रम विस्तार गर्ने, विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै ‘नेपालीका लागि नेपाली’ अभियानलाई सशक्त बनाउने योजना पनि साझा गरे।पराजित उम्मेदवार गौतम र ढकालले श्रेष्ठलाई बधाई दिँदै शुभकामना व्यक्त गरे। श्रेष्ठले पनि गौतमको समुदायप्रतिको योगदानको प्रशंसा गर्दै भविष्यमा सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याए।निर्वाचनपश्चात् टेक्सासको युलेसस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

कोलोराडो र पेन्सिलभेनियामा पनि नयाँ नेतृत्व चयन

एनआरएनए अमेरिकाका अन्य दुई च्याप्टर—कोलोराडो र पेन्सिलभेनियामा पनि हालै अध्यक्ष तथा सचिव पदका लागि निर्वाचन सम्पन्न भएको छ।

कोलोराडो च्याप्टरको अध्यक्षमा चन्द्र प्रकाश गुरुङ १४५ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी दिनेशकुमार श्रेष्ठले ७३ मत पाएका थिए। सचिव पदमा भुवन सापकोटा १४९ मतसहित विजयी भए भने अर्जुनकुमार कार्कीले ६९ मत प्राप्त गरे।

पेन्सिलभेनिया च्याप्टरको अध्यक्षमा नविन लामा १४८ मतसहित निर्वाचित भए। उनका नजिकका प्रतिस्पर्धी प्रकाश भाईले १४२ मत प्राप्त गरेका थिए।

यी निर्वाचनहरूले गैरआवासीय नेपालीहरूबीचको सहभागिता, प्रतिस्पर्धा र सहकार्यको भावना उजागर गर्दै एनआरएनए च्याप्टरहरूलाई अझ सशक्त र सक्रिय बनाउने अपेक्षा गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban