

जीतपुरसिमरा, बारा । कृषिमा आश्रित किसानहरु लाई प्रोत्साहन गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ ले दिएको एक उपहारले स्थानीय किसानको अनुहारमा खुसी छाएको छ । वडाले आ.व.२०८१/०८२ को बजेटबाट खेतीपाती गर्ने किसानलाई औषधी छिट्ने इलेक्ट्रिक पम्प निशुल्क वितरण गरेको छ । कुल १ सय ७५ जना कृषकलाई अनुदान मार्फत पम्प वितरण गरिएको हो ।
पम्प वितरण कार्यक्रममा सहभागी हुन आएका केही किसानहरु सुरुमा शुल्क तिर्नुपर्ने हो कि भनेर अन्योलमा थिए । तर जब उनीहरूलाई निशुल्क पम्प उपलब्ध गराईयो, उनीहरूको अनुहारमा उत्साह र आश्चर्य दुबै देखिएको थियो । पम्प काँधमा बोकेर घर फर्कंदै गरेका किसानहरुले यस्तो सहयोगले आफ्नो कृषि कार्य सहज र आधुनिक बन्ने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष चयन गुरुङले वडा कार्यालयले हरेक वर्ष किसानलाई लक्षित कार्यक्रम गर्दै आएको जानकारी दिइन् । उनले भनिन्, “गत वर्ष हामीले पशुपालक कृषकलाई कृषि सामग्री अनुदानमा वितरण गरेका थियौं, यसपटक खेतीपाती गर्ने कृषकका लागि इलेक्ट्रिक पम्प उपलब्ध गराएका हौं। उनले यस वर्ष वडा कार्यालयले दुध उत्पादनको आधारमा पशुपालक किसानलाई नगद अनुदान दिने योजना समेत बनाएको जानकारी दिइन् ।
इलेक्ट्रिक पम्प बितरण गर्ने सुचना गरेकोमा किसानहरु थोरै संख्यामा मात्र सम्पर्कमा आएपछि वडा कार्यालयले ३ पटक सम्म सुचना लिकाल्नु परेको थियो । निशुल्क विवरणको जानकारी पाएपछि केही किसानहरु वितरणको दिन समेत हातमा कागजपत्र बोकेर आई रहेको देखिन्थियो । कृषकप्रति यसरी स्थानीय तहले देखाएको सहकार्य र समर्पणले कृषिमा आत्मनिर्भरता र उत्पादनशक्ति बढाउने अपेक्षा गर्न सकिन्छ ।







Write your Comment