

बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरूले पानी संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन थालेका छन्।“पानी बचाऔँ, जीवन जोगाऔँ” अभियानअन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयहरूले विभिन्न गतिविधि गर्दै जनस्तरमा सचेतना फैलाउन सुरु गरेका हुन्।
उपमहानगरपालिकाको निर्देशनमा पानीको स्रोतको पहिचान, संरक्षण र सदुपयोगबारे विद्यालय तथा समाजमा बहस, अन्तरक्रिया र छलफल कार्यक्रमहरू भइरहेका छन्।लगातारको वर्षा अभाव, अत्यधिक गर्मी र सुख्खा परिस्थितिलाई ध्यानमा राख्दै मधेश प्रदेश सरकारले असार २६ गते सुख्खाग्रस्त र साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंद्वारा जारी पत्रमार्फत यस्तो जानकारी गराइएको हो।यही सन्दर्भमा वडा नं. १५ स्थित जनकल्याण आधारभूत विद्यालय र वडा नं. १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले पानी संरक्षणको सन्देश दिने र्याली आयोजना गरेका छन्।विद्यालयबाट सुरु भएको र्याली विभिन्न टोल परिक्रमा गरी पुनः विद्यालयमै समापन गरिएको थियो।
र्यालीमा सहभागी विद्यार्थीहरूले “पानी बचाऊँ, जीवन जोगाऊँ”, “बृक्षारोपण गरौँ” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।शिक्षा अधिकृत हरिष भट्टका अनुसार विद्यालयमार्फत समुदायलाई संलग्न गराई दीर्घकालीन प्रभाव पार्ने उद्देश्यसहित कार्यक्रम तीव्र बनाइएको हो।उपमहानगरपालिकाले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ।





Write your Comment