

सिमरा, बारा। सिमरामा पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा रात्री समयमा प्रतियोगिता सञ्चालन गरिनेछ।
शनिबार क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी गराउँदै नेपालभित्रका शीर्ष महिला क्लबहरू र भारतको दार्जिलिङस्थित कुरुसङ गल्स फुटबल एकेडेमीसहित आठ टोली सहभागी हुने जनाएको छ। सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लब रहेका छन्।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ तथा उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ भने उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।सिमरा भेट्रान क्लबले विगत चार वर्षदेखि भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटकदेखि महिला फुटबलको प्रवर्द्धनका लागि महिला प्रतियोगिता सुरु गरेको हो। क्लब अध्यक्ष राजकपुर राउतले प्रतियोगितालाई नियमितरूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। “महिला फुटबलप्रति पछिल्लो समय बढ्दो आकर्षण देखिएको छ,” उनले भने, “यसले अझ ऊर्जा दिनेछ। सिमरा महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बन्नेछ।”त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरुङ र वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले विद्यालयस्तरमै महिला फुटबललाई विस्तार गर्नुपर्नेमा जोड दिँदै प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र आयोजक क्लबका हरी चौधरीले वर्षौंपछि महिला फुटबलको पुनरागमन सिमराका लागि ऐतिहासिक भएको उल्लेख गरे।
सिमरामा सन् २०६५ मा पहिलो गणतान्त्रिक राष्ट्रिय महिला फुटबल प्रतियोगिता तथा २०६९ मा एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। त्यसयता यहाँ राष्ट्रिय महिला प्रतियोगिता आयोजना भएको थिएन। त्यसैले यो प्रतियोगिता स्थानीय प्रतिभाका लागि अवसरको ढोका खुलाउने विश्वास गरिएको छ।कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, क्लब सल्लाहकार विनोद परियार, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँलेलगायतले प्रतियोगिताले जीतपुरसिमरा क्षेत्रमै फुटबलको विकासमा गति दिने विश्वास व्यक्त गरे।
सिमरामा १५औं संस्करणसम्म सञ्चालन भइसकेको गोल्डकप प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगितामध्ये पर्छ। सोही प्रतियोगिताका माध्यमबाट निर्माणाधीन सिमरा रंगशाला अब मधेश प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि उपयुक्त स्थल बन्ने अपेक्षा गरिएको छ। यस प्रतियोगिताले रंगशालाको उपयोग, सम्भावना र पूर्वाधार विकासको आवश्यकता पुनः उजागर गराउने विश्वास व्यक्त गरिएको छ।






Write your Comment