

वीरगन्ज – वीरगन्जका सक्रिय पत्रकार क्रान्ति शाहलाई यस वर्षको स्व. ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ। फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना दिवसका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार ५१ हजार रुपैयाँ राशीसहित प्रदान गरिन्छ।
शनिबार सम्पन्न प्रतीक प्रकाशन समूहको बैठकले अन्नपूर्ण पोस्टका पर्सा जिल्ला संवाददाता तथा मधेस खबर अनलाइनका अध्यक्ष समेत रहेका शाहलाई यो वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
यससँगै, बैठकले उत्कृष्ट स्तम्भकारका रूपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल, र उत्कृष्ट संवाददाताका रूपमा प्रतीक दैनिक तथा मधेस खबरका संवाददाता प्रमोद यादवलाई पनि सम्मानित गर्ने निर्णय गरेको छ।
उक्त पुरस्कार तथा सम्मानहरू आगामी भदौ १ गते, प्रतीक दैनिकको वार्षिक उत्सवका अवसरमा एक विशेष समारोहबीच प्रदान गरिने प्रतीक प्रकाशन समूहले जानकारी दिएको छ।





Write your Comment