

सिमरा – तराई भूभागका अधिकांश जिल्लाहरूमा आज बिहानैदेखि लगातार भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सुनसरी, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया लगायतका जिल्लाहरूमा विहानैदेखि पानी झरिरहेको हो।
स्थानीय प्रशासनका अनुसार केही स्थानमा जलमग्न हुने अवस्था समेत देखिएको छ भने कृषि क्षेत्रमा समेत यसको प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। धान रोपाइँ सम्पन्न भइसकेको बेला आएको यो वर्षालाई किसानहरूले राहतका रूपमा लिएका छन्, तर निरन्तर पानी परेमा खेत तथा बालीमा क्षति पुग्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
सवारी आवागमन प्रभावित
सडकमा पानी जमेकाले केही सहरी क्षेत्रका सडकहरूमा ट्राफिक प्रभावित भएको छ। विशेष गरी वीरगञ्ज, जनकपुर, नेपालगञ्ज, धनगढी लगायतका शहरमा सवारी चलाउन कठिनाइ भएको जनाइएको छ। स्थानीय प्रशासन र ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।
मौसम विभागले आज रातिसम्म तराई क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा जारी रहने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।





Write your Comment