बारा जिल्लामा सरकारी र सार्वजनिक जग्गाको विवरण संकलन सुरु

रातोघर

 २०८२ श्रावण २२, बिहिबार  मा प्रकाशित
२४३ पाठक संख्या


कलैया । बारा जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गाको विवरण संकलन प्रक्रिया थालेको छ। यो कार्य मुलुकी देवानी संहिता, २०७४ को दफा ३०२ को उपधारा २, ३ र ४ को आधारमा अघि बढाइएको हो।

जिल्ला प्रशासन कार्यालय, बाराले साउन २१ गते एक पत्र जारी गर्दै भूमिसुधार तथा मालपोत कार्यालय कलैया, मालपोत कार्यालय सिमरा र सिम्रौनगढलाई कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गाको कित्तानम्बर, क्षेत्रफल र हालको अवस्था उल्लेखित विवरण यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको छ।उक्त पत्रमा भनिएको छ, “उक्त विवरण जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध गरिन्छ।” साथै, नापी कार्यालयहरू — कलैया, सिमरा र सिम्रौनगढ — लाई समेत वोधार्थ पठाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छत्रिरमण भट्टराईको हस्ताक्षर रहेको पत्रमा स्थानीय तहहरूलाई पनि आवश्यक सहयोग र सहजीकरण गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासनले चलाएको यस अभियानबाट अतिक्रमणमा परेका वा व्यवस्थापन आवश्यक रहेका जग्गाको यथार्थ स्थिति उजागर हुने विश्वास लिइएको छ। साथै, यसले स्थानीय शासनमा पारदर्शिता, सुशासन र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्य लिएको जनाइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban