

कैलाली — कारागारभित्र शुक्रबार राति भएको झडपपछि दुई दिन बित्दा पनि सुरक्षा निकायका अधिकारीहरू घटनास्थलसम्म पुग्न सकेका छैनन्। झडपमा एकको मृत्यु र ४८ जना घाइते भएका छन्।
कैदीबन्दीहरूले आफूहरूको माग गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागका प्रतिनिधिसमक्ष मात्रै राख्ने अडान लिएका छन्। प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू र मानवअधिकार आयोगको टोलीले समेत कारागार भित्र प्रवेश गर्न पाएनन्।
७०० बढी कैदी रहेका १५० क्षमताको कारागारमा कैदीबन्दीहरूले कारागारको प्रशासन सुधार, अवैध आर्थिक चलखेल रोकथाम लगायतका माग राख्दै साउन १२ गते मानवअधिकार आयोगलाई पत्र दिएका थिए। झडपको कारण सरुवा गरिएका समूहबीचको विवाद बताइएको छ।
कारागार प्रमुखको जिम्मेवारी हाल बाँकेका जेलर जालन्धर भुसाललाई दिइएको छ, तर प्रहरीले अझै घटनास्थल निरीक्षण गर्न पाएको छैन।





Write your Comment