

काठमाडौं । भारतमा हालै प्रकाशित सरकारी पाठ्यपुस्तकका कारण ठूलो विवाद सुरु भएको छ । राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् (NCERT) ले कक्षा १२ का विद्यार्थीका लागि तयार पारेको इतिहास विषयको एक अध्यायमा भारत–पाकिस्तान विभाजनमा कांग्रेस पार्टी पनि जिम्मेवार भएको उल्लेख गरिएको छ । पुस्तकमा मुस्लिम लिगका नेता मोहम्मद अलि जिन्नाहले मुसलमानहरूको लागि अलग देशको माग गरेको, तत्कालीन स्वतन्त्र भारतको नेतृत्वकर्ता कांग्रेसले उक्त मागलाई स्वीकार गरेको र बेलायती शासक लर्ड माउन्टबेटनले त्यसलाई वैधता दिएको कारण भारत विभाजन भएको दाबी गरिएको छ ।
यस विषय सार्वजनिक भएपछि भारतीय राजनीतिक वृत्तमै हंगामा मच्चिएको छ । कांग्रेस प्रवक्ता पवन खेडाले पुस्तकमा इतिहासलाई तोडमरोड गरेर प्रस्तुत गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । उनले कांग्रेसले देश विभाजनको कारण नभई तत्कालीन हिन्दू महासभा र मुस्लिम लिगबीचको राजनीतिक खेलका कारण भारत टुक्रिएको बताएका छन् । खेडाले पुस्तक नै जलाउनुपर्ने समेत टिप्पणी गरेका छन् ।
सत्तारुढ भारतीय जनता पार्टीले भने विद्यार्थीलाई वास्तविक इतिहास बुझाउन आवश्यक भएको दाबी गर्दै पुस्तकको बचाउ गरेको छ । भाजपा प्रवक्ता गौरव भाटीले पाकिस्तानका संस्थापक जिन्नाह र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका पनाति तथा हालका विपक्षी नेता राहुल गान्धीबीच सोच मिल्दोजुल्दो रहेको दाबी गर्दै धर्मकै आधारमा भारत विभाजन भएको बताए ।
यता अल इण्डिया मुस्लिम पार्टीका नेता तथा सांसद असदउद्दिन ओवेसीले मुस्लिम समुदायमाथि पटक–पटक अपमान गर्ने प्रयास भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनका अनुसार भारत विभाजनमा सम्पूर्ण मुस्लिम समुदाय जिम्मेवार थिएन । उनले जो पाकिस्तानतर्फ गएका थिए उनीहरू भगौडा रहेको तर भारतमै बसेका मुस्लिमहरू देशप्रति बफादार रहेको स्पष्ट पारे ।सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि धार्मिक आधारमा विभाजन भई पाकिस्तान गठन भएको थियो । विभाजनपछि लाखौं मानिसले ज्यान गुमाएका थिए भने करोडौं विस्थापित भएका थिए । आजसम्म पनि यस घटनालाई भारतको इतिहासमा सबैभन्दा पीडादायी अध्यायको रूपमा स्मरण गरिन्छ ।





Write your Comment