

विराटनगर । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलामा निर्माण भएको बेलीब्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ।
बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेसँगै पुल सञ्चालनमा आएको हो।
भारतीय सरकारको सहयोगमा उपलब्ध भएको सो बेलीब्रिज ४८.८ मिटर लम्बाइको रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। करिब १ करोड ४८ लाख रुपैयाँ लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले यसको निर्माण सम्पन्न गरेको हो।
पुल सञ्चालनमा आएपछि इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दालाई झापा पुग्ने यात्रा सहज र छोटो हुने भएको छ। यससँगै पहाड र तराईबीचको दूरी पनि घटेको छ।
यातायात सञ्चालन सुगम हुनुका साथै स्थानीय कृषिजन्य उत्पादनको बजारीकरणमा टेवा पुग्ने र जनताको आर्थिक स्तर सुधारमा सहयोग गर्ने विश्वास मन्त्रालयका सचिव केशवकुमार शर्माले व्यक्त गरे।
यसै क्रममा मन्त्री दाहाल र राजदूत श्रीवास्तवले पाँचथरको हेँवा खोलामा निर्माण गरिएको मोडुलर ब्रीजको समेत आजै उद्घाटन गर्ने कार्यक्रम रहेको छ।





Write your Comment