

काठमाडौँ । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएका छन्। नेपाली दूतावास कुवेतका अनुसार शव नेपाल पठाएर परिवारलाई बुझाइसकिएको छ भने अर्को एक जनाको शव बुधबार पठाउने तयारी भइरहेको छ।
दूतावासका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार अघिल्लो साता केही दिनको फरकमा १२ नेपालीले ज्यान गुमाएका थिए। उनका अनुसार मृतक बाँकी श्रमिकको शव नेपाल पठाउने प्रक्रिया चलिरहेको छ।हाल विभिन्न अस्पतालमा १५ जना नेपाली उपचाररत छन्, जस मध्ये १२ जना आईसीयूमा रहेको आचार्यले जानकारी दिए।
कुवेतमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध भए पनि लुकीछिपी हुने कारोबारमार्फत खरिद गरिएको विषाक्त मदिरा सेवन गर्दा नेपालीहरू प्रभावित भएको बताइएको छ। यस घटनामा केही नेपाली पक्राउ परेका समाचार आएका छन्, तर दूतावासले यसबारे थप जानकारी दिन अस्वीकार गरेको छ।
आजै प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको मृत्यु प्रकरणबारे संसद्मा जानकारी दिन सरकारसँग माग गरेका थिए।
हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली कामदार कार्यरत रहेको जनाइएको छ।





Write your Comment