

पोखरा । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेक–लिम्पियाधुरा प्रकरण डिप्लोमेटिक डाइलग (कूटनीतिक वार्ता) मार्फत समाधान हुने बताएका छन् ।
प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री गुरुङले भूमि फिर्ता लडाइँ गरेर होइन, वार्तामार्फत नै सम्भव हुने स्पष्ट पारे । “डिप्लोमेटिक डाइलगको माध्यमबाट समस्या समाधान गर्ने हो, लडाई गरेर प्राप्त गर्ने त कल्पना गरेका छैनौँ,” उनले भने ।
उनका अनुसार लिपुलेक–लिम्पियाधुरा ऐतिहासिक रूपमा नेपालको भूमि भए पनि अतिक्रमण भइरहेकाले भारतले उपभोग गर्दै आएको अवस्था छ । भारत र चीनले नेपाललाई परामर्शविना व्यापारिक प्रयोजनका लागि लिपुलेक प्रयोग गर्ने सम्झौता गरेपछि नेपालभित्र त्यसबारे असन्तोष बढेको छ ।
प्रवक्ता गुरुङले नेपालले आफ्नै भूमि फिर्ता पाउने अठोट व्यक्त गर्दै भने, “लिपुलेक–लिम्पियाधुरा नेपालको स्वामित्वमा रहेको जग्गा हो । नेपालले त्यसलाई क्लेम गर्छ, तथ्य प्रमाणले त्यही कुरा गर्छ । त्यसबाट हामी पछि हटेका छैनौँ, हट्ने कुरा नै छैन । अन्तर्राष्ट्रिय फोरममा पनि नेपालले आफ्नो अधिकार उठाउँछ ।”





Write your Comment