जीतपुर बजारमा फिल्मी शैलीको चोरी : चटपटे बनाएर खाए, बिर्यानी खाएपछि लाखौंको धनमाल लिएर फरार !

रातोघर

 २०८३ अषाढ १४, आईतबार  मा प्रकाशित
११ पाठक संख्या



बारा । बाराको जीतपुर बजारमा शनिबार राति भएको चोरीको घटनाले स्थानीय व्यापारी मात्र होइन, सर्वसाधारणलाई पनि स्तब्ध बनाएको छ। सामान्य चोरीभन्दा फरक र योजनाबद्ध शैलीमा भएको घटनामा चोरहरूले लाखौं रुपैयाँ बराबरको नगद तथा सामान चोरी गर्नुका साथै पसलमै बसेर चटपटे बनाएर खाएका छन्। यति मात्र होइन, नजिकैको बिर्यानी हाउसमा गएर बिर्यानी खाएपछि आरामसँग फरार भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–७ अन्तर्गत रहेको विशाल मार्केट र सिटी मार्केटका आधा दर्जनभन्दा बढी पसलमा अज्ञात समूहले चोरी गरेको हो। आइतबार बिहान व्यापारीहरू पसल खोल्न पुगेपछि घटना सार्वजनिक भएको थियो। सबैभन्दा आश्चर्यजनक कुरा अधिकांश पसलका मुख्य ढोका र ताला भने जस्ताको तस्तै अवस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार चोरहरूले भवनको छानामाथिको जस्तापाता उप्काएर पसलभित्र प्रवेश गरेका थिए। यसबाट घटनामा संलग्न समूहले पूर्वयोजना बनाएर चोरी गरेको अनुमान गरिएको छ।
व्यापारीहरूले दिएको जानकारीअनुसार चोरहरूले कुनै हतार नगरी एउटा चटपटे पसलमै चटपटे बनाएर खाएका थिए। त्यसपछि उनीहरू नजिकैको जमजम बिर्यानी हाउसमा पुगेर बिर्यानी खाएका थिए। त्यहाँबाट उनीहरूले महँगा इनर्जी ड्रिंक्स, चाउचाउ, पेय पदार्थलगायत अन्य खाद्य सामग्रीसमेत चोरी गरेर लगेका छन्।
घटनाको अर्को गम्भीर पक्ष भनेको अधिकांश पसलमा जडान गरिएका सीसीटीभी क्यामरा नै भित्ताबाट उखेलेर लगिएको हो। प्रहरीसम्म भिडियो प्रमाण नपुगोस् भन्ने उद्देश्यले चोरहरूले क्यामरा नै साथमा लगेको हुन सक्ने अनुमान गरिएको छ।
मुन्ना फेसनबाट नगद ५० हजार रुपैयाँ, १३ थान सर्ट र एक थान सीसीटीभी क्यामरा चोरी भएको सञ्चालक सुमोद चौरसियाले बताए। जायदा फेन्सी स्टोर्सबाट नगद ७ हजार रुपैयाँ र करिब एक लाख रुपैयाँ बराबरका कपडा चोरी भएको सञ्चालक नजरुल हसनले जानकारी दिए। साजहान फेसनबाट नगद ८० हजार रुपैयाँ, करिब ४० हजार रुपैयाँ बराबरका दुई बन्डल कपडा तथा एक थान सीसीटीभी क्यामरा चोरी भएको सञ्चालक जसिम अन्सारीले बताए।
त्यस्तै, शुद्ध चटपटे पसलबाट २४ वटा रेड बुल, पाँच पेटी चाउचाउसहित अन्य खाद्य सामग्री चोरी भएको सञ्चालक अरबिन्द कुमार गुप्ताले जानकारी दिए। जमजम बिर्यानी हाउसबाट एक कार्टुन डिउ पेय पदार्थ र नगद ४ सय रुपैयाँ चोरी भएको सञ्चालक गुलाम कैसले बताए। शाहिन फेन्सी स्टोर्स एण्ड ब्याग हाउसबाट नगद १० हजार रुपैयाँ तथा २० वटा ब्याग चोरी भएको सञ्चालक जाबेद अन्सारीले जानकारी दिए।
एउटै राति यति धेरै पसलमा चोरी हुँदा पनि कसैलाई सुइँकोसमेत नपुग्नुले बजारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको व्यापारीहरूको भनाइ छ। उनीहरूले रात्रीकालीन सुरक्षा गस्ती प्रभावकारी बनाउन र बजार क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ गर्न माग गरेका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जीतपुरको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको, सम्भावित प्रवेश तथा बाहिरिने मार्गको अध्ययन भइरहेको र उपलब्ध प्राविधिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
चोरहरूले नगद, कपडा, खाद्य सामग्री र सीसीटीभी क्यामरासमेत चोरी गर्नुका साथै पसलमै बसेर चटपटे र बिर्यानी खाएको घटनाले जीतपुर बजारका व्यापारीहरूलाई थप त्रसित बनाएको छ। स्थानीयले दोषीलाई यथाशीघ्र पक्राउ गरी चोरी भएका सामान बरामद गर्न माग गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन