

बीरगंज ।
मुलुककै आर्थिक राजधानी बीरगंजबाट दुई जना युवकको अपहरण भएको छ । परिवारजनले अपहरण भएको भनेपनि प्रहरीले तत्काल आधिकारिक भनेको छैन् । दुई दिनभित्र दुई जनाको अपहरण भएको समाचार बाहिरिएसँगै बीरगंजबासीलाई तनाव भएको छ । उनीहरु त्रसित भएका छन् । मधेशमा सशस्त्र संघर्ष भइरहेको समयमा व्याप्क अपहरणको घट्ना भएपनि बीचमा यस्ता घट्नामा कमी आएको थियो ।
वीरगन्ज महानगरपालिका ६ इनर्वाका ३५ वर्षीय अरमान अलीको सोमबार अपहरण भएको र पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ मधवलका २८ वर्षीय उपनिवेश चौरसियाको मंगलबार अपहरण भएको छ । ३५ बर्षीय अरमान सोमबार बिहान ५ बजे गाउँकै मस्जिदमा नमाज पढेर घर फर्किँदै गर्दा अपहरणमा परेको उनको परिवारजनले जनाएको छ ।
यस्तै, पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ मधवलका उपनिवेश चौरसीया समेत अपहरणमा परेको उनको पारिवारिक श्रोतले जनाएको छ । २८ वर्षीय चौरसियालाई मंगलबार दिउँसो वीरगन्जको घण्टाघर चोकबाट उनकै गाउँका दुई जनाले मोटरसाइकलमा चढाएर अपहरण गरी लगेका छन् ।
‘उनलाई जबर्जस्ती मोटरसाइकलमा चढाएर ती दुई जनाले भारतको रक्सौलतर्फ लिएर गएका छन्’ पारिवारिक श्रोतले भन्यो । उनको मोवाइलको स्वीच अफ रहेको छ भने अवस्था पनि पत्ता लाग्न सकेको छैन् ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पर्सा सदस्य समेत रहेका चौरसीयालाई उनकै गाउँका उत्तम तिवारी र मोहम्द इजराउलले घण्टाघरबाट मोटरसाइकलमा चढाएर रक्सौलतर्फ लिएर गएको परिवारजनको भनाई छ । यो खबर पाएपछि रक्सौल गएर खोजतलास गर्दा पनि चौरसीया फेला पर्न सकेका छैनन् ।
चौरसीयालाई जबरजस्ती मोटरसाइकलमा चढाएका तिबारी र इजराउलले रक्सौलको श्याम होटलमा राति राखेको सूचना परिवारजनले पाएका थिए । तर बुधबार बिहान इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहसहित परिवारजनको टोली गएर खोज्दा उक्त होटलमा फेला पर्न सकेनन् ।
सोमबार बिहान मस्जिदाबाट नमाज पढेर घर फर्किएका अरमानलाई कसैले फोन गरेर बोलाएको र उनी त्यसपछि घर नफर्केपछि परिवारजन चिन्तित भएका छन् । सोमबार बिहानदेखि वेपत्ता भएका उनले मंगलबार बिहान बिहान ८ बजे भने आफ्नै मोबाइलबाट आफ्नी दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएको उनकी दिदीले बताएकी छन् ।
उनले अपहरणकारीले आफूसँग फिरौती मागिरहेको जानकारी दिदीलाई गराइन् । रकम नदिए आफ्नो ज्यान अपहरणकारीले लिने बाध्यता उनले सुनाएका थिए । अरमानले दिदीलाई फोन गरेको केहि बेरमै उनको मोबाइल स्वीच अफ भएको पाइएको परिवारजनको भनाई छ । यसपछि उनी अपहरणमा परेको जानकारी परिवारजनले प्रहरीलाई गराएको थियो ।
प्रहरी भने आधिकारिक रुपमा अपहरणको खबर नआएको जनाएको छ । यद्यपी अपहरणमा परेका भनिएकाको खोजी भइरहेको प्रहरीको भनाई छ । पर्साका प्रहरी प्रमुख उपरीक्षक सोमेन्द्रसिंह राठौरले अपहरणबारे प्रहरीलाई आधिकारिक जानकारी नआएको बताए । ‘हामीसँग आधिकारिक जानकारी आएको छैन’ जनकपुर टुडेसँगको कुराकानीमा उनले भने, “यद्यपी हामी तदारुकताका साथ खोजी गरिरहेका छौं ।
यसअघि गएको जेठमा बीरगंजमै एक जना बालकको अपहरणपछि हत्या भएको थियो । १० जेठमा अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगर निवासी शम्भु साह तुराहका ७ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको थियो ।
विद्यालयबाट फर्कँदै गरेका बालक साह अपहरणमा परेका थिए । त्यस बेला पर्सा प्रहरीले अपहरणकारीलाई पक्राउ गर्न गोली चलाएको थियो । बालक हत्यामा संलग्न भारतीय नागरिक विकास शर्मा र बाराका सिकेन्द्र साहको घुँडामा गोली लागेको थियो । बालक अपहरण र हत्यामा संलग्न बारा कलैया–११ का रामविनेश महतो पनि पक्राउ परेका थिए ।





Write your Comment