५० रुपैयाँमा सुरु गरेकाे व्यवसायबाट वार्षिक ८० लाखकाे काराेबार

रातोघर

 २०७६ श्रावण १८, शनिबार  मा प्रकाशित
७५६ पाठक संख्या


उमेरले ७० वर्ष टेक्न लागेकी वसन्ती खत्री रुपन्देहीकी एक सफल महिला उद्यमीका रूपमा परिचित छिन् । बुटवलको बजारमा वसन्ती र अचारलाई पर्यायबाचीका रूपमा हेरिन्छ । ०५३ सालदेखि बुटवलमा अचार बेच्न थालेकी उनी अहिले पनि यहि पेसामा रमाइरहेकी छन् ।
मेहनत गर्ने हो भने सफल भइन्छ भन्ने उदहारण बेनकी उनी अहिले अचार व्यवसायबाटै वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएकी छन् ।

बुटवलको शिवनगरमा रहेको वसन्ती अचार उद्योग सञ्चालन गरेकी वसन्तीले २०५३ सालदेखि अचार उद्योग सञ्चालनमा ल्याएकी हुन् ।

५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । ६९ वर्षीया वसन्तीले आफैंले बनाएको अचार बेचेर वार्षिक ८० लाखको कारोबार गर्ने गर्छिन् भने उनले सबै खर्च कटाएर २५ लाख रुपैयाँ आम्दानी गरिरहेकी छन् ।५० रुपैयाँको लगानीमा आँपको अचार बनाएर सालको पातमा २ रुपैयाँको दरले बेचेको स्मरण गर्दै खत्रीले भनिन् अहिले अलि चाहिँ पहिलाकाे जस्ताे दु:ख गर्नुपर्दैन । उनकाे उद्याेगमा बनेकाे अचार हिजाेआज पोखरा, काठमाडौंलगायतका शहरमा बढी बिक्री हुन्छ । ‘शिवनगरमा सुरुमा एक दुई रुपैयाँ लिएर सालको पातमा अचार किन्न आउँथे,’ उनी सम्झन्छिन्, ‘त्यहि देखेर आत्मबल मिल्यो र अहिलेसम्म अचारलाई निरन्तरता दिएकी छु ।’
वसन्ती सफल महिला उद्यमीका रूपमा सम्मानीत पनि भएकी छन् । सफल महिला उद्यमीको परिचय बनाएकी वसन्तीले विभिन्न पुरस्कार प्राप्त गरिसकेकी छन् । पश्चिम नेपालका विभिन्न शहरमा आयोजना हुने साना ठूला सबै कृषि, उद्योग तथा व्यापार मेला महोत्सवमा उनको अचार अनिवार्य जस्तै बनेको छ । अहिले बसन्तीको अचार किन्न ग्राहकहरु उनकै घरमा समेत पुग्छन् । ३१ वर्षदेखि अचार बनाउने काम गर्दै आएकी उनले आप, अकबरे खुर्सानी, लसून, लप्सी, सिन्की, मूला, कागती, करेला, मेथीलगायत २४ प्रकारको अचार बनाउने गरेकी छन् ।
सानो लगानीबाट सुरु भएको उनको उद्योगबाट उत्पादित अचार अहिले नेपालमा मात्रै नभई विदेशमा पनि माग भइरहेकाे छ ।
खासगरी कोसेलीको रुपमा प्रयोग हुँदै आएकाे अचारले सबैको मन लोभ्याउने गरेको छ ।
निरन्तरकाे मेहनत, लगनशीलता र दृढताले नै वसन्ती सफल भएकी स्थानीय अगुवाहरू बताउँछन् । उनकाे लगन र मेहनतबाट अरूले पनि पाठ सिक्नुपर्नेमा उनीहरूकाे जाेड छ । आर्थिक समृद्धिकाे नारा लिएकाे सरकारले पनि वसन्तीजस्ता उद्यमीलाई प्राेत्साहन गर्नुपर्ने नागरिक अगुवाहरूकाे सुझाव छ । 
shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban