डिभी परेर अमेरिका उडेका वडाध्यक्षले इमेलबाट पठाए राजीनामा

रातोघर

 २०७६ भाद्र ५, बिहिबार  मा प्रकाशित
२५२ पाठक संख्या


काठमाडौं।

निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्।

पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्।

‘वडाध्यक्षज्यूले इमेलबाट राजीनामा पत्र पठाउनुभएको छ,’ गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले सेतोपाटीसँग भने, ‘कुरियरबाट पनि राजिनामा पत्र पठाउनुभएको भन्ने सुनेको छु। नेपालमा आइपुग्न समय लाग्ला।’

कुँवरका अनुसार वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेका छन्। ‘घरासयी कारण देखाएर उहाँले राजीनामा माग गर्नुभएको छ,’ उनले भने।

गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी नै छ। राजीनामा स्वीकृत भएमा यहाँ पनि उपनिर्वाचन हुनुपर्ने हो। निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन तय गरिसकेकोले अब यहाँ उपनिर्वाचन हुने वा नहुने भन्ने एकीन छैन।

‘कुरियर गरेर पठाएको राजिनामा पत्र गाउँपालिकामा प्राप्त भएपछि बैठक बसेर राजिनामा स्वीकृत भएपछि मात्रै पद रिक्त हुन्छ अनि उपनिर्वाचनको कुरा आउँछ,’ उनले भने। घिसिङ अमेरिका उडेपछि वडा कार्यालय पाँच महिनादेखि प्रमुख विहीन छ।

घिसिङ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडा सदस्य नमराज अधिकारीले वडा कार्यालयको जिम्मेवारी लिँदै आएका छन्।

-setopati.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban