

सिमरा : उमेरले ३८ नाघेका हरेराम चौधरीको अनुहारमा आजभोली चमक हराएको छ । करिब आठ महिनाअघी शरिरमा कमजोरी बढ्दै गएपछी अस्पताल पुगेका बाराको जतिपुरसिमरा १४ हरेरालाई रगतमा क्यान्सर भएको मेडिकल रिपोर्ट थमाएकै दिनदेखी उनि हाँस्न बिर्सेका छन् ।
यतिबेला रोगको चिन्ता भन्दा बढी बछुतो छ उनलाई निःशुल्क भइरहेको उपचार बिचैमा छाडेर घर फर्कीएकोमा । ‘उ बेलामा लहैलहैमा लागेर बिचैमा घर फर्किएँ । अहिले गल्ति गरेको महशुस भएको छ । अव अस्पतालसम्म पुग्ने खर्च समेत छैन ।’ मलिन स्वरमा चौधरीले भने ।
रगतको क्यान्सरलगायत जटिल रोगका बिरामीका लागि सरकारले एक लाख रुपयाँसम्म सहुलियत गरिदिँदै आएको छ । सोहि सुबिधा प्रयोग गर्दै हरेरामले भरतपुरस्थित क्यान्सर अस्पतालमा करिब दुई महिना नियमित औषधी उपचार गरिरहे ।
उपचारकै क्रममा अस्पतालमा रहँदा एकदिन उनकै छिमेकका एक ब्यक्ती भेट्न पुगे, जसको नाम खुलाउन चाहादैँनन् हरेराम । उनलाई रगतको क्यान्सर केही दिनमै निको हुने उपाय बताउन उनके छिमेकी अस्पताल पुगेका थिए । भेटमा आफुलाई ‘प्रभु’ यशुको प्रार्थना गरे केही समयमै पुरै रोग निको हुने उपाय बताएको हरेराम सम्झन्छन् । ‘अस्पतालको औषधीले यो रोग निको हुँदैन, झन छिटो ज्यान लैजान्छ भने ।’ हरेराम भन्छन्, ‘रोग सन्चो गराउन अहिलेको धर्म छाडेर नयाँ जिवन सुरु गर्नुपर्ने सल्लाह दिए ।’
एकातिर प्राणघातक रोग, अर्कोतर्फ बिपन्नताको पिडा र अस्पताल बसाईको दिक्दारीमा रुमलिरहेका सोझा हरेरामलाई छिमेकीको सल्लाहमा बिश्वास गर्न समय लागेन । त्यसपछी उनकै सल्लाहामा उपचार छाडेर घर फर्कने निधो गरे ।
घर फर्केपछी उनलाई निरन्तर यशुको प्रर्थना गर्न लगाईयो । तर दिनहुँ रोग कम हुनुको सट्टा झन च्याप्दै गएपछी उनलाई छिमेकीको भरोसा गरेकोमा पछुतो लागेको छ । ‘रिण खोजेर बल्लतल्ल अस्पताल पुगिएको थियो । जालीले झुक्याएर फर्काए ।’ उनि भन्छन्, ‘अब फेरी अस्पताल पुग्ने गाडी भाडा समेत छैन ।’
धर्म परिवर्तन गरेर बिचैमा उपचार छाडेकोमा परिवारका अन्य सदस्य र आफन्त समेत हरेरामसँग रुष्ट छन् । भन्छन्, ‘न रोग निको भयो न आफन्त आफ्ना रहे ।’





Write your Comment