हेटौंडामा साढे ४२ करोडको लगानीमा बन्ने भयो सुविधा सम्पन्न तरकारी बजार

रातोघर

 २०७६ पौष ८, मंगलबार  मा प्रकाशित
३३७ पाठक संख्या


हेटौंडा

 

हेटौंडा–११ थानाभर्याङमा सुविधासम्पन्न तरकारी तथा फलफूल बजार निर्माण हुने भएको छ । प्रदेश–३ सरकार र हेटौंडा उपमहानगरपालिकाको लगानीमा बजार निर्माणको तयारी अन्तिम चरणमा पुगेको हो ।

तरकारी बजारको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिएको छ । अबको दुईवर्षभित्र सम्पन्न गर्ने गरी थोक बजार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले तत्परता देखाएका हो । थोक बजारको लागि प्रदेश सरकारले ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तरकारी बजारको डीपीआर स्वीकृत गरी तत्कालै प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरिने मन्त्री लामाले बताए । आईईई रिपोर्टपछि तत्कालै ठेक्का प्रक्रियामा जाने उनले बताए ।

चितवनको स्वराज कन्सल्टेन्टले डीपीआर तयार गरेको हो । डीपीआर अनुसार आधुनिक तरकारी बजार निर्माण सम्पन्न गर्न अनुमानित ४२ करोड ४९ लाख ७० हजार रुपैयाँ खर्च हुनेछ । तरकारी बजारभित्र ४० वटा थोक बिक्री केन्द्र निर्माण हुनेछन् भने ३० वटा खुद्रा बिक्री केन्द्र रहनेछन् । आफ्नो उत्पादन आफैंले खुद्रा बिक्री गर्न चाहने किसानको लागि छुट्टै ब्लक स्थापना गरिनेछ ।

उक्त ब्लकमा किसान आफैंले निर्धारित मूल्यअनुसार तरकारी तथा फलफूलको खुद्रा बिक्री गर्न सक्नेछन् । तरकारी बजारभित्र कोल्ड स्टोर, क्यान्टिन, एटिएम सुविधा, व्यवस्थित पार्किङको सुविधा, जेनेरेटर सब स्टेशन, आधुनिक अग्नि नियन्त्रण यन्त्र, व्यवस्थित तौल पुल, शौचालयलगायतका सुविधा हुनेछन् । व्यवस्थित तरकारी बजारमा दैनिक करिब ९ हजार मेट्रिकटन तरकारी तथा फलफूल खरिद बिक्री गर्न सकिने अनुमान गरिएको डीपीआर निर्माण कम्पनी स्वराज कन्सल्टेन्टका प्रतिनिधि सुदर्शन सेढाईले बताए ।

डीपीआरमाथि सोमबार मन्त्रालयमा भएको छलफलमा बोल्दै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रादेशिक कृषि बजार निर्माणपछि प्रदेशको अर्थतन्त्रको विकासमा ठूलो योगदान पुग्ने दावी गरे । तरकारी बजारको स्थापनापछि किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सुलभ मूल्यमा तरकारी तथा फलफूल प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे । तरकारी बजार निर्माणको लागि प्रदेशले बहुवर्षीय योजना अनुसार चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बिनियोजन गरेको छ भने हेटौंडा उपमहानगरपालिकाले पनि एक करोड रुपैयाँ बिनियोजन गरेको छ ।

चालु वर्षभित्र ठेक्का सम्झौता गरी काम सुुरु भएमा अर्को वर्ष आवश्यक बजेट जुटाइने प्रदेश कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रदेशको कृषि क्षेत्रको ठूला तीन आयोजनामध्ये आधुनिक तरकारी बजार निर्माण पनि एक भएको भन्दै कार्कीले बजार निर्माणपछि सयौं जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीसमेत पाउने उनले दावी गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban