

काठमाडौं, २६ पुस
नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यका कारण प्रधानमन्त्री ओली भने बैठकमा सहभागी नरहेको पार्टी स्रोतले जानकारी दिएको छ । तर, सो निर्णमा उनको पनि सहमती रहेको नेताहरुले बताएका छन् ।
उपसभामुख तुम्बाहाम्फेले नेकपाका अध्यक्षद्वयसँग भएको भेटमा आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने अन्यथा सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने अडान लिएकी थिइन् । सचिवालय बैठकमा नेताहरुले उनको अडान उपयुक्त नभएको धारणा राखेका थिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे जानकारी गराएका थिए ।
यद्यपी, बैठकमा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा भने छलफल नभएको नेकपा नेताहरुले बताएका छन् ।





Write your Comment