अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा मकवानपुरगढी किल्लामा विजयोत्सव

रातोघर

 २०७६ माघ १०, शुक्रबार  मा प्रकाशित
४३७ पाठक संख्या


हेटौंडा । मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको छ ।

मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन तथा सेतो हात्तीको प्रतिमा अनावरण गरेका थिए ।

विसं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउने गरिएको छ । सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै सबैभन्दा ठूलो र पुरानो गढी भएको इतिहासका जानकार बताउँछन् ।

तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीमा तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो । क्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन् ।

चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो । हाल सो दरबारको भग्नावशेष देख्न सकिन्छ । मकवानपुरगढी किल्ला करिब १३५ रोपनी क्षेत्रमा फैलिएको छ । मकवानपुरगढी दरबार १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको इतिहासका जानकार केदारप्रसाद न्यौपानेले बताए ।

बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा रहेको मकवानपुरको संरक्षण र विकासका लागि संघीय सरकार, प्रदेश सरकार र मकवानपुरगढी गाउँपालिकाले बजेट छुट्याएर काम गरिरहेका छन् ।

गौरवपूर्ण र ऐतिहासिक दिनः मुख्यमन्त्री
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताएका छन् । । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको अवसरमा बोल्दै उनले गोर्खालीको अदम्य साहसका कारण आज विश्वमा नेपालीको शिर उच्च रहेको मुख्यमन्त्री पौडेलले उल्लेख गरे ।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिन गौरवपूर्ण र ऐतिहासिक दिन भएको उनले बताए । अंग्रेजलाई पराजित गरेर गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्र कायम ठूलो योगदान दिएको पौडेलले बताएका छन् ।

आजभन्दा २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको हुन्थ्यो भने आज नेपाल स्वतन्त्र देश नहुने उल्लेख गर्दै उनले भने–‘ त्यसैले आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण छ । नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

गढीगाउँपालिका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री डोरमणि पौडेल रहेका थिए । कार्यक्रममा संघीय सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसद मुनु सिग्देल, प्रेमबहादुर पुलामी, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, संविधानसभाका सदस्य अन्नत पौडेललगायतको सहभागिता रहेको थियो ।

प्राध्यापक दिनेशराज पन्तले मकवानपुर गढीको बारेमा लेखेको लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसंँग भएको थियो । हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो थिएन । हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए ।
पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा प-यो र पृथ्वीनारायण बेहुली नै नलिइ फर्केका लेखमा उल्लेख छ । उक्त हात्ती मरेपछि गाडेको स्थानमै सेतो हात्तीको प्रतिमा स्थापना गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban