प्रदेश-२ को राजधानी जनकपुरधाम पक्‍का

रातोघर

 २०७६ माघ १५, बुधबार  मा प्रकाशित
३६४ पाठक संख्या


जनकपुरधाम : प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाम हुने पक्का भएको छ।

प्रदेश दुईको राजधानी र नामाकरण सम्बन्धमा गठन गरिएको संसदीय विशेष समितिले जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति गरेको छ।

संसदीय विशेष समितिमा राजधानीको विषयमा सहमति भएपछि जनकपुरधाम नै राजधानी हुने लगभग पक्का भएको समितिका संयोजक प्रदेशसभा सभामुख सरोज कुमार रायले जानकारी दिए।

प्रदेश गठन भएपछि प्रदेश २ को अस्थाई राजधानी जनकपुरधामलाई निर्धारण गरिएको थियो। समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगाई सकेको छ।

‘उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा’ क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको सभामुख यादवले बताए।

समितिले टुंगो लगाएको राजधानी जनकपुरधाम प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेपछि राजधानीको औपचारिक रुपमा कायम हुने छ।विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगेको सभामुख यादवले बताए।

पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो।

समितिमा उपसभामुख उपमा देव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रदेशसभा सदस्य रामकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र प्रदेशसभा सदस्य नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी प्रदेशसभा सदस्य सावित्रीदेवी साह सदस्य छन्।

प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका प्रदेशसभा सदस्यहरुले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो। प्रस्ताव दर्ता पछि अहिले सम्ममा ८ पटक मात्र प्रदेशसभा बैठक बस्न सकेको छैन्।

प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा भने सहमति हुन सकेको छैन। नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल तथा कसरत भइरहेको जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban