

काठमाडौं। चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसले अहिले मानिसको स्वास्थ्यमात्र होइन, सामाजिक जीवनमा पनि गम्भीर प्रभाव पारेको छ। सिंगापुरमा कोरोनाभाइरसको डरले एक विवाहमा निम्त्याइएका पाहुना नै आएनन्। सिंगापुरका जोसेफ यू र उनकी श्रीमती कांग टिंङ, विवाह अघि चीनको हुनान प्रान्तबाट फर्केका थिए।
नयाँ वर्ष मनाएर उनीहरू सिंगापुर फर्के। फ्रेबुअरी २ मा उनीहरूको विवाह तय भएको थियो। उनीहरूले सिंगापुरमा होटल बुक गरेका थिए। पाहुनाले उनीहरू चीन गएर आएको थाहा पाएपछि विवाहमा आउन आनाकानी गर्न थाले। आफ्नो विवाहमा पाहुना नआउने डर भएपछि जोसेफ र कांगले मिति सार्न खोजेका थिए। तर होटलले सबै तयारी पूरा भइसकेकाले सार्न नमिल्ने बताएपछि उनीहरूले नयाँ उपाय निकाले। उनीहरूले विवाह भोजमा आफूहरू उपस्थित नहुने तर भिडिओ कन्फ्रेन्समार्फत् पाहुनासँग कुराकानी गर्ने निर्णय गरे।
भिडियो कलबाटै नवविवाहित दम्पत्तिले आफ्नो विवाहको भाषण गरेका थिए भने पाहुनाले बधाई पनि त्यसैमार्फत फर्काएका थिए। कोरोनाभाइरसकै कारण कांगकी आमाबुबासमेत विवाहमा उपस्थित हुन पाएका थिएनन्। सिंगापुर अहिलेसम्म कोरोनाभाइरसको संक्रमण २८ जनामा भेटिएको जनाइएको छ।





Write your Comment