विद्यालय तहमा नयाँ पाठ्यक्रम, नेपाली माध्यमलाई प्राथमिकता

रातोघर

 २०७६ फागुन २३, शुक्रबार  मा प्रकाशित
४२२ पाठक संख्या


 

फाल्गुन २२,
काठमाडौँ — सरकारले आगामी शैक्षिक सत्रदेखि लागू हुने विद्यालय तहको पाठ्यक्रममा नेपाली भाषालाई पठनपाठनको माध्यम भाषा बनाउन जोड दिएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा (१–१२) को पाठ्यक्रम कार्यान्वयनका लागि सरोकारवालालाई सार्वजनिक सूचना जारी गरेर अपिल गरेको हो ।

सरकारले गत भदौमा स्वीकृत गरेको पाठ्यक्रमको प्रारूपमा मातृभाषा, स्थानीय पाठ्यक्रम र नेपाली माध्यम भाषामा जोड दिइएको छ । कक्षा ११ र १२ मा नेपाली र अंग्रेजी दुवै माध्यम भाषा हुनेछन् । ‘सामाजिक अध्ययन, मानव मूल्य/चारित्रिक शिक्षा, नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि माध्यम भाषा नेपाली हुनेछ,’ पाठ्यक्रममा भनिएको छ ।

यसले निजी विद्यालय र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएका सामुदायिक विद्यालयसमेत प्रभावित हुनेछन् । यसअघि कक्षा १ देखि नै शिक्षण भाषा नेपाली वा अंग्रेजी दुवै हुने व्यवस्था थियो । ‘अंग्रेजी सिक्न/जान्नका लागि कक्षा १ देखि १२ सम्म नै अनिवार्य विषयका रूपमा राखिएको छ,’ केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले भने, ‘अंग्रेजी माध्यमले विद्यार्थीले नबुझ्ने समस्या रहेको पाइयो, मातृभाषा वा समाजमा बोलीचालीमा रहेको भाषामा नै विद्यार्थीले राम्रोसँग सिक्न सक्छन् भन्ने निष्कर्षमा पुगेका हौं ।’ कक्षा ४ देखि १० सम्म अंग्रेजी, गणित र विज्ञानबाहेकका विषयको माध्यम भाषा नेपाली बनाउन लागिएको हो । केन्द्रले अन्तर्राष्ट्रिय अभ्यास, विज्ञहरूको सुझाव र विभिन्न अध्ययनका आधारमा नेपाली भाषालाई शिक्षण भाषा बनाउन जोड दिएको दाबी गरेको छ ।

 

केन्द्रले ४३ वटा विषयका पाठ्यक्रम निर्माण भइसकेको जनाएको छ । अनिवार्य विषयका पाठ्यपुस्तक केन्द्र आफैंले बनाएको हो । ऐच्छिक विषयमा बहुपाठ्यक्रम लागू गर्न खोजिएको छ । केन्द्रले त्यसका लागि लेखक र प्रकाशकलाई पाठ्यपुस्तक विकास गरी मूल्यांकनका लागि पेस गर्न आग्रह गरेको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले स्वीकृति दिएपछि मात्र पुस्तक अध्यापन गराउन अनुमति पाइन्छ ।

आउँदो शैक्षिकसत्र (वैशाख) देखि कक्षा ९ र १० मा अध्यापन गराउन ऐच्छिक नेपाली विषयको पाठ्यक्रमसमेत स्वीकृत भइसकेको छ । योग, प्राकृतिक चिकित्सा र आयुर्वेद विषयको समेत पठनपाठन सुरु हुने भएको छ । ऐच्छिक सौन्दर्य कला, अवधि भाषा, भोजपुरी भाषाको नयाँ पाठ्यक्रम तयार गरिएको केन्द्रले जनाएको छ । केन्द्रले सूचना जारी गरेर नेपालीलाई आधारभूत तहमा पठनपाठनको माध्यम भाषा बनाउन ताकेता गरेको छ । ‘आधारभूत तह कक्षा ४–८ मा भाषा विषयबाहेक अन्यमा पाठ्यसामग्री तथा सिकाइ सहजीकरण प्रक्रियाका लागि माध्यम भाषा मातृभाषा वा नेपाली भाषा हुनेछ,’ पाठ्यक्रम कार्यान्वयन सम्बन्धी सूचनामा भनिएको छ, ‘गणित र विज्ञान विषयका लागि भने अंग्रेजीलाई माध्यम भाषा बनाउन सकिने छ ।’

केन्द्रका महानिर्देशक पौडेलले विज्ञको सुझाव र विभिन्न अध्ययनको निष्कर्षका आधारमा नेपाली भाषालाई जोड दिएर पाठ्यक्रम तयार पारिएको बताए । आधारभूत तह कक्षा (१–३) मातृभाषा र नेपाली भाषालाई मात्र माध्यम भाषा बनाउने नीति बनाएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्रध्यापक प्रेम फ्याकले मातृभाषामा शिक्षण गराउँदा प्रभावकारी हुने बताए । ‘अहिले अंग्रेजी पढाउने नाममा क्षमता नभएका शिक्षकले पढाउँदा विद्यार्थीले अंग्रेजी नजान्ने र नेपालीमा पनि पोख्त नहुने समस्या जहाँतहीँ छ,’ उनले भने, ‘नयाँ पाठ्यक्रमले अंग्रेजी माध्यमको विकृति रोक्न मद्दत गर्न सक्छ ।

Ekantipur.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban