निको भयो कोरोना : डाक्टरले फूल दिएर बिदा गरे, छिमेकीले घण्टी बजाएर स्वागत गरे

रातोघर

 २०७६ चैत्र १३, बिहिबार  मा प्रकाशित
४८७ पाठक संख्या


भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हामी यहाँ उनीहरूको नाम उल्लेख गर्दैनौँ किनकि उनीहरूले नाम सार्वजनिक गर्न अनुमति दिएका छैनन् । यो परिवार ५ मार्चमा दुबईदेखि मुम्बई आइपुगेका थिए र ९ मार्चमा अर्थात् ठीक होलीको दिन उनीहरूमा कोरोना भाइरसको संक्रमण भएको थाहा भएको थियो ।

तत्कालै पूरै परिवारलाई क्वारेन्टाइनमा राखेर पूनेस्थित डा. नायडू अस्पताल भर्ना गरियो । त्यहाँ १७ दिन बिताएपछि उनीहरूलाई बुधबार घर फर्काइएको हो ।

१७ दिनमा परिवारका सदस्यहरूमाथि के के बित्यो, उनीहरूले भनेका कुरा जस्ताको त्यस्तै :

४० जनाको समूह थियौँ
पहिलो पटक हामी विदेश गएका थियौं । हामी समूहमा थियौं जहाँ ४० जना थिए । दुबई जानुअघि हामीले कोरोना भाइरसका विषयमा खासै सुनेका थिएनौँ । देशमा यसको प्रभाव परिसकेको थिएन ।

मेरो परिवारको यो पहिलो विदेश यात्रा थियो । हामी ४० सदस्यीय समूहको हिस्सा थियौँ । ६ मार्चमा हामी पती–पत्नी र बच्चासमेत पूने फर्कियौँ । हामीलाई हल्का ज्वरो र खोकी थियो । त्यसैले परिवारका डाक्टरसँगको सल्लाहअनुसार डा. नायडू हस्पिटल गएर आफ्नो स्याबको नमूना दियौँ ।

करिब ८ घण्टासम्म हस्पिटलकै एक कोठामा बन्द बस्यौँ । अबेर रात रिपोर्ट आयो र थाहा भयो, हामी चारमध्ये ३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

परिवारबाट अलग
यो रिपोर्टले मेरो परिवारको मात्रै होइन, धेरैको कान ठाडो पारिदियो । मपछि मेरी इन्जिनियर छोरीलाई पनि कोरोना पुष्टि भयो । यद्यपि, छोराको रिपोर्ट नेगेटिभ आयो । यसका बाबजुत उनलाई १७ दिनसम्म हस्पिटलमै राखियो ।

१९ मार्चमा यो जानकारी देशभर फैलियो । त्यसपछिका तीन÷चार दिन कुनै खराब सपनाभन्दा कम थिएन । पहिलो दुई दिन त केही आफन्तले बाहिरसम्म खाना ल्याएर दिए तर राज्य सरकारको पहलपछि हस्पिटलमै खाना मिल्न थाल्यो । खानामा कुनै खालका विशेष बन्देज थिएन तर डाक्टरले फ्राइड–रोस्टेड खाना नखानु भनेका थिए ।

सुरुमा लाग्यो, हाम्रो कारण महाराष्ट्रमा कोरोना फैलियो
कोरोनाको पुष्टि भएपछि हामीलाई पटक–पटक यही कुराले पिरल्यो कि हाम्रो कारणले अन्य ४० मानिसलाई पनि कोरोना संक्रमण भयो । यद्यपि, दुई दिनपछि मात्रै प्रस्ट भइयो, समूहका अधिकांश मानिसको रिपोर्ट नेगेटिभ आएको छ ।

सुरूमा त पूरै महाराष्ट्रमा कोरोना भाइरस फैलियो भने त्यसको जिम्मेवार हामी नै हौं भन्ने लागेको थियो । केही नजिकका साथीबाहेक अधिकांश साथीको व्यवहारमा परिवर्तन देख्यौँ ।

केही दिनसम्म एकअर्काबाट अलग भइयो
हस्पिटलका डाक्टर र नर्सको व्यवहार पूरै १७ दिनसम्म निकै राम्रो थियो । सुरुआती चार दिनमा म, मेरी पत्नी र छोरीलाई अलग–अलग कोठामा राखियो । त्यसपछि हामी कोरोनाका बिरामीका लागि बनाइएको विशेष वार्डमा सारियो । यो वार्डमा मभन्दा दुई बेड छाडेर मेरै पत्नी र त्यसबाट दुई बेड छाडेर मेरी छोरीलाई राखिएको थियो ।

दिनमा तीन पटक डाक्टर र नर्स जाँचका लागि आउँथे । यही क्रममा दबाई पनि दिइन्थ्यो । १४ दिन भएपछि अर्थात २३ मार्चमा फेरि कोरोनाको जाँच गरियो, यसमा हाम्रो रिपोर्ट पहिलो पटक नेगेटिभ आयो । यसपछि २५ मार्चमा फेरि पूरै परिवारको चेकअप भयो र सबैको रिपोर्ट नेगेटिभ आयो । यसपछि हाम्रो ज्यानमा ज्यान आयो ।

अखबार पढ्न दिइएन, टाइम पासका लागि कपिल शर्माको सो
हस्पिटलमा रहँदा हामी विशेष क्वारेन्टाइनमा थियौँ । तर, हस्पिटलका डाक्टर र नर्सले हामीलाई आफ्नै परिवारका सदस्यजस्तै गरी सेवा गरे । यद्यपि, हामीलाई बाहिरको कुनै पनि जानकारी दिइएको थिएन । हामीलाई त बस यही कुरा मात्र थाहा हुन्थ्यो कि हस्पिटलमा फेरि कोरोना संक्रमित कोही भर्ना भए ।

हस्पिटलमा अखबार पनि आउँदैन थियो । तर, हामीले टिभी राखिदिन आग्रह गरेका थियौं । हस्पिटलवाला भनेका थिए कि कोरोनाको समाचार सुन्दा नेगेटिभिटी आउँछ । यद्यपि, टाइम पास गर्नका लागि हामी मोबाइल र आइप्याडमा कपिल शर्मा सो, नेट फ्लिक्सका सो र युट्युब हेर्थ्यौँ । पूरा परिवार भिडियो च्याटका माध्यमबाट एक–अर्कासँग कुरा गर्थ्यौँ ।

सोसाइटीमा मानिसहरूले ताली बजाएर स्वागत गरे
रिपोर्ट पूर्ण रूपमा नेगेटिभ आएपछि म र मेरी पत्नी बुधबार साँझ तथा मेरी छोरी बुधबार राति हस्पिटलबाट डिस्चार्ज भयौँ । डाक्टरहरूले हामीलाई फूल दिएर बिदा गरे । हामी एम्बुलेन्सबाटै आफ्नो सोसाइटीसम्म पुग्यौँ । क्याम्पसमा पाइला राख्नेबित्तिकै मानिसहरूले छतमा आएर ताली, थाली र घण्टी बजाएर हाम्रो स्वागत गरे ।

यो सबै देखेर मेरो आँखामा आँसु आएको थियो जुन खुसीको आँसु थियो । यस्तो लागिरहेको थियो कि हामी खराब दिनबाट राम्रो दिनमा फर्किएका छौँ ।

कोही जानाजान कोरोना संक्रमित हुँदैन तर सावधानी अपनाउनुपर्छ
डाक्टरहरूले अझै हामीलाई १४ दिनसम्म परिवारसँग होम क्वारेन्टाइनमै बस्न भनेका छन् । सबैलाई हामीले आफ्नो घरमा आउन रोकेका छौँ । हाम्रो खराब दिन अहिले सकिएको छ । हामीलाई समाजले पहिले जस्तै गरी स्वीकार गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । मान्छेले बुझ्नुपर्छ कि कोरोना भाइरस कसैले जानीजानी आफ्नो शरीरमा ल्याउँदैन । हामीलाई थाहै थिएन कि कोरोनाले कसरी हामीलाई गाँज्यो । तर, म भन्न चाहन्छु, यसबाट संक्रमित भएका ९९ प्रतिशत बिरामीले नियमको पूर्ण पालना गरे भने मुक्ति पाउन सक्छन् । (दैनिक भास्करबाट नवराज कुँवरले गरेको शब्दानुवाद)

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban