

काठमाडाैं ।
कोरोना भाइरस (कोभिड–१९) ले न शक्तिशाली अमेरिकालाई चिनेको छ, न त विकासाेन्मुख नेपाललाई । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनदेखि उदयपुरको भुल्केमा तरकारी बेचेर गुजारा चलाउने सामान्य किसान, यसले कसैलाई चिनेको छैन । पूरै विश्वलाई हेरौं न, कहाँचाहिँ कोरोना भाइरसले जाति, धर्म, वर्ण हेरेर आक्रमण गरेको छ र ?
तर, कोभिड–१९ संक्रमित र यसको मृत्यु दर हेर्दा एउटा सोचनीय प्रश्न हाम्रा अगाडि जबर्जस्त रूपमा तेर्सिन पुगेको छ– नयाँ कोरोना भाइरसले महिला र पुरुषबीचमा भेदभाव गरिरहेको त छैन ?
होइन भने यसले पुरुष र महिलामा फरक–फरक तरिकाले असर किन गरिरहेको छ त ?
नेपालकै आँकडा हेरौँ न, पुरुषको तुलनामा महिलाको संख्या चार गुणा कम छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिममा ६१ पुरुष र २१ महिला गरी कुल ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
मार्था हेनरिक्सले बीबीसीका लागि तयार गरेको एक रिपोर्टका अनुसार अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेमा महिलाको तुलनामा पुरुषको संख्या दुई गुणा बढी छ । पश्चिम यूरोपमा यसबाट मर्नेहरूमध्ये ६९ प्रतिशत त पुरुष मात्र छन् । चीन वा कोरोनाको प्रकोप झेलिरहेका अन्य कुनै पनि देशको स्थिति यस्तै छ ।
नेपालमा त अक्सर यस्ता विषयमा खोज नै हुँदैन । तर, विकसित देशमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याबारे विवरण राख्ने रिसर्चरको समूह यसको कारण खोज्नमा जुटेका छन् । अहिलेसम्म कुनै सटीक कारण नमिलेकाले हुन सक्छ, उनीहरूले केही बोलेका छैनन् ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाका अनुसार पुरुषको तुलनामा महिलामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । कोरोना मात्र नभएर कुनै पनि भाइरसले महिलालाई पुरुषको तुलनामा अलि कम असर गर्छ ।
डा. बास्तोला भन्छन्, ‘नेपालको सन्दर्भमा पुरुषमा बढी संक्रमण देखिनुको अर्को कारण भनेको सामाजिक रूपमा बढी हेलमेल हुनु र गतिविधि गर्नु हो । महिलाहरू बाहिर अलि कम निस्कन्छन् । उनीहरूले सामान्यतः अरु बेला पनि सामाजिक दूरी कायम गरिरहेका हुन्छन् ।’
मार्था हेनरिक्सले अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर फिलिप गोल्डरको भनाइ आफ्नो रिपोर्टमा समेटेकी छन्, जहाँ डा. गोल्डरले भनेका छन्, ‘कुनै पनि भाइरसलाई सक्रिय हुन, अझ भनौं कोरोना भाइरसका लागि जुन प्रोटिनको आवश्यकता हुन्छ त्यो ‘एक्स क्रोमोजाेम’ मा हुन्छ । महिलाहरूमा ‘एक्स क्रोमोजाेम’ दुइटा हुन्छन् । जबकि, पुरुषमा एउटा मात्र हुन्छ । त्यसैले महिलाहरूसँग कुनै पनि भाइरसको प्रकोप झेल्ने क्षमता बढी हुन्छ ।’
डा. बास्तोलाजस्तै गोल्डरले अगाडि थपेका छन्, ‘भाइरसले पुरुषलाई बढी सिकार बनाउनुको अर्को कारण जिन्दगी जिउने तरिका पनि हो । अर्थात्, खैनी, सिगरेट, पराग खानेहरूमा कुनै पनि रोगको सम्भावना उच्च हुन्छ । सिगरेट पिउनेहरूका लागि त कुनै पनि संक्रमण अझै छिटो हुन जान्छ ।’
महिलाहरूको तुलनामा पुरुष सिगरेट ज्यादा पिउँछन् । केही रिपोर्टले नेपालमा सिगरेट पिउने पुरुषको संख्या ६० प्रतिशत बढी रहेको देखाएका छन् । जबकि, महिला ३ प्रतिशत वा त्योभन्दा कम छन् । उत्तरी छिमेकी चीनमा ५० प्रतिशत पुरुष सिगरेट पिउँछन् भने सिगरेट पिउने महिलाको संख्या ५ प्रतिशत छ । महामारीका क्रममा यो दाबीको पक्षमा कुनै सबुत त छैन, तर, यो दाबीलाई अस्वीकार गर्न पनि सकिँदैन ।
संक्रमणको जोखिम अलि कम भए पनि कुनै पनि महामारीपछिको सामाजिक, आर्थिक र व्यक्तिगत असर महिलामाथि नै बढी पर्ने गरेको छ ।
लकडाउनका कारण लगभग सबै खालका आर्थिक गतिविधि ठप्प छ । ठूलो संख्यामा मानिस बेरोजगार बनेका छन् । पुरै संसारमा मन्दी सुरू हुनेवाला छ । तर, अबको मन्दी अरुबेलाको भन्दा केही फरक हुने छ । किनकि, यो मन्दीको मार सबैभन्दा बढी महिलाहरूमा पर्ने वाला छ ।
नेपालमा लकडाउनपछि कति मानिस बेरोजगार भए, यसको स्पष्ट तथ्याङ सरकारसँग छैन । तर, विकसित मुलुकले यस्तो विवरण संकलन गरी आइपर्ने चुनौतीलाई टार्न कदम चालिसकेका छन् । अमेरिकामा मार्च महिनामा मात्र करिब १० लाख ४० हजार मानिसले रोजगारी गुमाएका छन् । सन् १९७५ पछि अमेरिकामा बेरोजगारीको यो आँकडालाई सबैभन्दा ठूलो भनिएको छ । यस पटक पुरुषको तुलनामा महिलाहरूले बढी जागिर गुमाएका छन् ।
नेपालमा मात्र होइन, विश्वमै पुरुषले प्रायजसो निर्माण क्षेत्रमा काम गरिरहेका हुन्छन् भने महिलाहरू सेवामूलक क्षेत्रमा हुन्छन् ।
पुरुषले म्यानुफ्याक्चरिङ वा कन्स्ट्रक्सन कम्पनीमा काम गरिरहँदा महिलाहरू शिक्षा, स्वास्थ्य सेवा, रेस्टुरेन्स, डान्स बार आदिमा काम गर्छन् । काठमाडौंलाई नै हेरौं न, यहाँ रहेका हजारौं डान्स बार, होटल, रेस्टुरेन्टमा काम गर्ने महिलाहरूको संख्या ठूलो छ ।
लकडाउनको समयमा अहिले यी सबै बन्द छन् । लकडाउनपछि सञ्चालनमा आए पनि पहिले जस्तै भीडभाड वा बिक्री हुने सम्भावना कम नै हुन्छ । यसको सिधा असर यहाँ काम गर्ने महिलाहरूमाथि पर्नेछ ।
अन्तर्राष्ट्रिय स्तरमा यात्रा र पर्यटन उद्योगमा पनि ठूलै संख्यामा महिलाहरू कार्यरत छन् । अन्तर्राष्ट्रिय यात्रामा अनिश्चितकालीन प्रतिबन्ध छ ।
सामान्यतया पुरुषको तुलनामा महिलाहरूले तलब अलि कम पाउँछन्, यो पनि महिलाहरूमाथि पर्ने सम्भावित दबाबको एक कारण हो । मार्थाले आफ्नो रिपोर्टमा ‘द वर्ल्ड वी वान्ट’ की सह–संस्थापक नताशा मुधरको भनाइ पनि समेटेकी छन्, जहाँ मुधरले भनेकी छन्– समान काम गर्ने महिलालाई संसारमै पुरुष कर्मचारीको तुलनामा पैसा कम दिइन्छ । अमेरिकामा एक महिलालाई पुरुषको तुलनामा ८५ प्रतिशत मात्रै तलब दिइन्छ । अस्ट्रेलियामा यस्तो अनुपात ८६ प्रतिशत छ ।’
नेपालमा पुरुष कर्मचारीको तुलनामा महिलाको तलब ७० प्रतिशत मात्र रहेको बताइन्छ ।
रङ विभेद हुने मुलुकमा त अझै खराब स्थिति छ । अमेरिकामा श्वेत अमेरिकी महिलाको तुलनामा अश्वेत अमेरिकी महिला कर्मचारीले २७ प्रतिशत कम तलब पाउँछन् ।
घरमा बच्चाको एकल जिम्मेवारी लिएका महिला वा पुरुषलाई लकडाउनपछिको परिस्थिति अझै भारी पर्नेवाला छ । नेपालमा यस्तो संख्या कमै छ । तर, अमेरिकामा यस्ता मानिसको संख्या दुई करोड रहेको बताइन्छ । यसमा तीन चौथाइ संख्या महिलाकै छ । यस्तोमा महिलाहरूले कुनै क्षेत्रमा जागिर पाइहाले भने पनि उनीहरूको समस्या सल्टिदैन । किनकि, बच्चाको हेरचाहको लागि घरमा नर्स राख्ने स्थितिमा उनीहरू हुँदैनन् । जबसम्म डे–केयर खुल्दैनन्, जबसम्म उनीहरूले काम गर्न पाउँदैनन् ।
लण्डन स्कूल अफ इकोनोमिक्समा पोलिटिकल साइन्सकी प्रोफेसर क्लेयर वेन्हमका अनुसार सबै महामारीको समय पुरुष र महिलाबीच भेदभावको उजागर हुन्छ । महिला नै बढी समस्यामा पर्छन् । तर, अफसोचको कुरा यो छ कि नीति निर्माता कोही यसप्रति गम्भीर छैनन् ।
प्रोफेसर क्लेयर वेन्हम र उनका सहकर्मीले जीका र इबोला महामारीलाई लिंगअनुसार प्रभावमाथि रिसर्च गरेका थिए । अहिले उसैगरी कोभिड–१९ को प्रभावमाथि पनि काम गरिरहेका छन् । उनका अनुसार इबोला महामारीका क्रममा मातृ मृत्यु दरमा अचानक वृद्धि आएको थियो । विश्व स्वास्थ्य संगठनले पनि महामारीको समयमा गर्भवती महिलाहरूको स्वास्थ्य हेरचाहमा कुनै कमी हुन नहुने मान्यता राख्छ ।
तर, महिलाले गर्भनिरोधक चुन्नेसम्मको विकल्प पाउँदैनन् । किनकि, यसलाई जरुरी ठानिदैन । परिवार नियोजनको संस्था मेरी स्टोप्सका अनुसार कोभिड–१९ महामारी चल्दै गर्दा अन्तर्राष्ट्रिय स्तरमा लगभग ९० लाख ५० हजार महिला र युवती गर्भनिरोधक र गर्भपात सेवाबाट वञ्चित रहने छन् ।
महामारीका क्रममा घरेलु हिंसाको घटना पनि बढ्छन् । नेपालमा अहिले नै यस्तो आँकडा एकै ठाउँ राखेर हेरिएको छैन । यद्यपि, राष्ट्रिय मानव अधिकार आयोगको टोल फ्रि नम्बरमा लकडाउनयता दैनिक ५ सयभन्दा बढी कल आउने गरेको छ । यसमा ७० प्रतिशतभन्दा बढी घरेलु हिंसाका घटना हुने गरेको आयोगले जनाएको छ ।
त्यसो त, यसरी घरेलु हिंसा बढेको नेपालमा मात्र होइन । बीबीसीका अनुसार फ्रान्समा लकडाउनअघि देखिनै घरेलु हिंसाको घटना एक तिहाइले बढेको छ । अस्ट्रेलियामा ७५ प्रतिशत मामिला बढेको छ । जबकि, लेबनानमा घरेलु हिंसाको घटना दुई गुणा भएको छ । चीनमा घरेलु हिंसासँगै सम्बन्ध विच्छेदका घटना पनि बढेका छन् ।
घरेलु हिंसाको सिकार पुरुष र महिला दुवै हुन्छन् तर, प्रायजसो महिलाको संख्या बढी हुन्छ । अमेरिकामा यस्ता महिलाहरूको संख्या लगभग दुई गुणा छ । १४ गुणा संख्या यस्ता युवतीहरूको छ, जो आफ्नै नजिकको कोहीबाट बलात्कृत भएका छन् ।
ज्येष्ठ नागरिकहरूका लागि पनि स्थिति राम्रो छैन । यस्ता मानिसहरूमा कोभिड–१९ को संक्रमण हुने सम्भावना उच्च छ । यता, संक्रमित भई निको भएका ज्येष्ठ महिलाको संख्या पनि बढी छ । यद्यपि, स्वास्थ्यसमा यसको असर लामो समयसम्म रहन्छ ।
अधिकारकर्मी मोहना अन्सारी नेपालमा महामारीका क्रममा वा त्यसपछि महिलामा परेको वा पर्न सक्ने सामाजिक, आर्थिक समस्यालाई मध्यनजर गरी सरकारले बेलैमा योजना बनाउनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘महामारीको अन्त्य भई जनजीवन सामान्य बनेपछि सबैभन्दा पहिला यस्ता महिलालाई काम दिने वा आम्दानी गर्न सक्ने वातावरण राज्यले बनाइदिनुपर्छ ।
उनका अनुसार कोरोनाभन्दा समाज र प्रवृत्तिबाट महिलाहरू बढी पीडित छन् । ‘भाइरसले होइन, हाम्रो समाजले नै भेदभाव गरिरहेको छ जसमा महिलाहरू बढी पीडित छन्’, अन्सारी भन्छिन् ।
-Shilapatra





Write your Comment