बजेटमै समेटिएको ‘कोरोना बिमा’ याेजना बन्द

रातोघर

 २०७७ जेष्ठ २२, बिहिबार  मा प्रकाशित
३४७ पाठक संख्या


काठमाडौं ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्।

संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन्।

निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले भोलि शुक्रबारदेखि पोलिसी नै स्थगन गर्न बिमा समितिमा प्रस्ताव गरिएको जानकारी दिए ।

बिमा समितिले पनि यसमा सहमति जनाइसकेको छ । बिमा समितिका एक अधिकारीले भने, ‘संघले नै भनिसकेपछि हामीले जबरजस्ती गर्ने कुरा पनि भएन, उहाँहरूको कुरामा हामीले सहमति जनायौं ।’

नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड-१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन्।

जसबापत १६ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको महासचिव क्षेत्रीले बताए । हालसम्म बिमा दाबी भने कसैको पनि परेको छैन । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो ।

बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ ।

सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ ।

बजेटमा प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बिमा कम्पनीहरू रुष्ट भएका छन् । प्रिमियममा छुट दिने बजेटले उल्लेख गरेको तर बिमा कम्पनीलाई सहुलियत हुने अन्य नीति नलिएको महासचिव क्षेत्रीले बताए ।

हाललाई स्थगन गरिएको तर कार्यविधि बनेर कम्पनीहरूलाई केही सहुलियत आएको अवस्थामा भने पुनः बिमा हुने उनले बताएका छन् ।

-onlinekhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban