

संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
सवारी दुर्घटना चालककै बढी लापरबाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सुझाव दिइएको उपसमितिका संयोजक गणेश पहाडीले बताए । सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमले निषेध गरेको कार्य ३ पटकभन्दा धेरै गरेमा सवारी चालकको अनुमतिपत्र रद्द हुने व्यवस्था गर्न सुझाव दिएका छौं, पहाडीले भने । यही सुझाव अनुसार कानुन बने यो व्यवस्था सार्वजनिक र निजी दुवै सवारीमा लागू हुनेछ ।
ट्राफिक प्रहरीले अहिले सम्म मदिरा सेवन गरेर ५ पटकसम्म कारबाहीमा परेको खण्डमा लाइसेन्स खारेजका लागि यातायात व्यवस्था कार्यालयमा लेखेर पठाउने गरेको छ ।तर, प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । प्रहरीको तथ्यांक अनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरबाही नै देखिएको छ ।
प्रहरीका रेकर्ड अनुसार चालकको लापरबाहीले ४३.७ प्रतिशत, तीव्र गतिले १८.७, ओभरटेक गर्दा ९.८, पैदल यात्रुको लापरबाहीले ९.५, मादक पदार्थ सेवन गरी चलाउँदा ६.२, सवारीको यान्त्रिक गडबडीले ६.१, ओभरलोडले ५.२, सडक चौपायाका कारण ०.४ प्रतिशत दुर्घटना हुने गरेका छन् ।





Write your Comment