जनकपुरमा ठूलो अपराध : बैंकबाट यसरी ९३ लाख निकाले एक कर्मचारी

रातोघर

 २१ श्रावण २०७६, मंगलवार १६:३६  मा प्रकाशित

जनकपुरधाम ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) प्रदेश २ को कार्यालय जनकपुरमा आउजाउ गर्ने बीपी कोइराला पोलिटेक्निक इन्स्टिच्युट सपहीको ल्यावमा कार्यरत्त एकजना करार कर्मचारीले दुबै कार्यालयको खाताबाट झण्डै ९४ लाख रुपैया किर्ते गरी झिकेकोछ ।

सीटीईभीटी प्रदेश कार्यालयको राष्ट्रिय बाणिज्य बैंक जनकपुरमा रहेको र पोलिटेक्निकको पिराडी चोकस्थित बाणिज्य बैकमा रहेको खाताबाट पाँच पटकमा गरी सो रकम झिकिएको हो । पोलिटेक्निकका प्रमुख राजकुमार चौधरीका अनुसार ठाकुरले गत माघ २४ गते रंगरेज रायको नाममा ९६ हजार ९ सयको चेक काटेर नगद भुक्तानी लिएका छन् ।

त्यसपछि माघ २८ गते निरज कुमार चौधरीको नाउँमा ९ लाख ९० हजारको चेकको रकम पिराडी चोक बैंकबाट ठाकुरले राबा बैंक भानुचोक स्थित खातामा ट्रान्सफर गराएको र सोही दिन आफ्नो नाउँमा ८ लाख ९० हजारको चेक खातामा ट्रान्सफर गराएको देखिन्छ ।

ठाकुरले गत जेठ २३ गते ३९ लाख ३० हजारको चेक आफ्नै नाउँमा काटेर सखुवा महेन्द्रनगर शाखाबाट भानुचोक स्थित आफ्नो खातामा ट्रान्सफर गराएको चौधरीले बताए ।

त्यसैगरी ठाकुरले सीटीईभीटी प्रदेश २ को जनकपुर स्थित कार्यालयबाट चेक चोरेर गत वैशाख २२ गते आफ्नै नाउँमा काटेको चेकको रकम ३० लाख ९५ हजार भानुचोक राबा बैंकको आप्mनै खातामा ट्रान्सफर गरेको प्रदेश प्रमुख नागेन्द्र साहले जनाए ।

दुवै कार्यालयबाट कुल ९३ लाख ५१ हजार ९ सय रुपैया ठाकुरले झिकेपनि कार्यालयले साउनको पहिलो हप्ता मात्र थाहा पाए । कार्यालयबाट जारी भएको चेक र बैंकको मौज्दातमा सीटीईभीटी प्रदेश कार्यालयको खातामा ३० लाख ९५ हजार रकम कम र टेक्निकल कार्यालयको खातामा ६२ लाख ५६ हजार ९ सय कम भएपछि सोधखोज सुरु भएको थियो ।

‘बैंकबाट स्टेटमेन्टहरु मिलानगर्दा ठाकुरको नाउँमा चेक काटिएको देखियो’ प्रदेश २ का प्रमुख साहले भने, टेक्निकलमा पनि गडबडी भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा लिखित निवेदन र मुद्दा समेत गरिएकोछ ।

स्रोतहरुका अनुसार ठाकुरले राबा बैंक भानुचोक स्थित खातामा रकम ट्रान्सफर गरिएपनि हाल त्यो खातामा करिब ५० हजार मात्र मौज्दात छ । उनले सम्पूर्ण रुपैया सहयोगी विकास बैंकको मुरलीचोक स्थित खातामा ट्रान्सफर गरिएको देखिएकोछ । त्यहाँ ६८ लाख रुपैया मुद्दती र बचत खातामा मौज्दात देखिएकोछ ।

साउन १२ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएपनि हाल सम्म ठाकुर पक्राउ पर्न सकेको छैन् । प्रदेश कार्यालयका प्रमुख साह र टेक्निकलका प्रमुख चौधरीमाथि ठाकुरले टेलिफोन मार्फत निरन्तर ज्यानमार्ने धम्की दिइरहेका छन् । प्रमुखद्वय साह र चौधरी सास्तीमा छन् ।

बैंक कर्मचारीहरुका अनुसार किर्ते चेक साट्ने काममा बैंक कर्मचारीको समेत संलग्नता रहेको देखिन्छ । केरमेट भएका चेकको रकम १० लाख करिब भएपनि सम्बन्धित निकायलाई सोधपुछ नगर्नु, व्यक्तिको नाममा सरकारी कार्यालयको करिब ४० लाखको चेक जारी हुनु शंकाष्पद देखिएपनि बैंकले सम्बन्धित कार्यालयलाई कुनै प्रकारले जनाउ दिएको छैन् ।

व्यक्तिको नाउँमा १० लाख मुनीको चेक मात्र काटिने गरिन्छ ।तर त्यसकालागि खाताधारकलाई सम्पर्क गरेर मात्र भुक्तानी गरिन्छ ।

shalhesnews.com

Write your Comment