यसरी गरिनेछ प्रदेश २ को नामांकरण

रातोघर

 २७ श्रावण २०७६, सोमबार १०:२०  मा प्रकाशित

जनकपुरधाम ।

सरकार बनेको लगभग डेढ् बर्ष बित्न लाग्दा प्रदेश २ को नामांकरण र स्थायी राजधानी अबको केहि दिनमा तोकिने भएको छ । आईतबारदेखि औपचारिक रुपमा यसको प्रकृया शुरु भएको छ ।

प्रदेशसभा सचिवालयले आईतबारदेखि प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव दर्ता गराउने समय निर्धारण गरेको छ । योसँगै प्रदेशका सांसदहरुले आगामी भदौ ५ गते साँझ ५ बजेसम्म प्रस्ताव दर्ता गराउन पाउनेछन् । प्रदेशसभा कार्य सञ्चालन नियमावलीको पहिलो संशोधन गर्दै प्रदेश २ को नामांकरण र राजधानी तोक्ने बाटो खुल्ला गरेको हो ।

संशोधन गरिएको नियमावली अनुसार प्रदेशको नामांकरण र स्थायी राजधानी तोक्न सांसदहरुले हस्ताक्षर गरेर मत दिन पाउनेछन् । प्रदेशको नाम राख्न एक जना प्रस्तावकले दुई जनाको समर्थनसहित प्रस्ताव पेश गर्न पाउने छन् । प्रस्ताव दर्ता भएपछि कार्यव्यवस्था परामर्श समितिमा छलफलका लागि समय निर्धारण गरिनेछ । यसपछि प्रस्तावक सांसदले सभामुखको अनुमतिमा सभामा मन्तव्यसहित प्रस्तुत गर्नुपर्ने हुन्छ । एउटै नाम एकभन्दा बढी दर्ता भएमा संयुक्त प्रस्तावको रुपमा दर्ता गरिनेछ । दर्तापछि छलफल गर्न सांसदहरुलाई समय दिइनेछ ।

छलफल समाप्त भएको ७२ घण्टाभित्र सदस्यहले नियमावली बमोजिम संशोधन दर्ता गराउन सक्नेछन् । यसपछि नामांकरण प्रस्ताव र संशोधन प्रस्ताव अध्ययन गरी सरोकारबालाहरुसँग छलफल र अन्तरकृया गरी सभामा प्रतिवेदन पेश गर्न एक विशेष संसदीय समिति बनाइनेछ । समितिले एक महिनाभित्र प्रदेशसभामा पेश गर्नुपर्नेछ । पेश भएको प्रतिवेदन उपर समिति सभापतिले छलफलको प्रस्ताव ल्याएपछि संशोधनकर्ताहरुले संशोधन सम्बन्धमा बोल्नेछन् ।

संशोधनकर्ताहरुको भनाईपछि समिति सभापतिले जवाफ दिने र त्यसपछि सभामुखले संशोधन फिर्ताको समय उपलब्ध गराउनेछन् ।संशोधनकर्ताले संशोधन फिर्ता लिए वा सभामा प्रस्तुत नगरे स्वतः निष्कृय मानिनेछ । यद्यपी फिर्ता लिन अस्वीकार गर्नेहरुको प्रस्ताव सभामुखले सभा समक्ष क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् । प्रस्ताव बहुमतबाट स्वीकृत भए मूल प्रस्तावको अंग बन्ने र पारित नभएका स्वतः निष्कृय मानिनेछ । यस पश्चात सभामुखले प्रदेशको नामांकरण सम्बन्धी प्रस्ताव पारित गरियोस् भनी प्रस्तावकलाई प्रस्ताव प्रस्तुत गर्न अनुमति दिनेछन् ।

यसपछि प्रस्तावको पक्षमा ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने पक्षका सदस्यलाई मत विभाजनद्वारा निर्णयका लागि अलग अलग लवीमा गएर हस्ताक्षर गर्न सभामुखले आदेश दिन्छन् । हस्ताक्षरको तत्कालै गणना गरी मत परिणाम सार्वजनिक गरिनेछ । प्रस्तावको पक्षमा दुई तिहाई मत आए प्रस्ताव पारित हुने मानिनेछ । दुई तिहाई मत प्राप्त नभएमा पुनः यस सम्बन्धी निर्णय प्रकृया शुरु गरिने नियमावलीमा जनाइएको छ

Write your Comment