Advertisement
SKIP THIS

प्रदेश २ को नाम ‘जानकी’ राख्ने नेकपाको निर्णय

रातोघर

 ५ भाद्र २०७६, बिहीबार १८:१३  मा प्रकाशित

जनकपुरधाम ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ को नाम जानकी राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी प्रदेश राख्ने सर्वसम्मतीले निर्णय भएको हो । बैठकले प्रदेश राजधानीमा मिथिला परिक्रमासहित धनुषा राख्ने निर्णय गरेको सो पार्टीका सांसद मञ्जु यादवले जानकारी दिइन ।
यस सम्बन्धमा दूईदिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल जनकपुरधाम आउँदा उनकै उपस्थितिमा समेत छलफल भएको थियो । दूवै नेताले पनि जानकी प्रदेशमा सहमती जनाएको सांसद यादवले जानकारी दिइन् ।
समाजवादी पार्टीले पनि मधेश प्रदेश र जनकपुरधाम राजधानी राख्ने निर्णय गरेको छ । सो पार्टीले अहिले केही बेरमा प्रदेशसभामा सो सम्बन्धी प्रस्ताव दर्ता गराउने भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेश राजधानीको प्रस्तावबारे निर्णय गरेको छ ।
सो पार्टीको बुधवार साँझ बसेको संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको छ । तर जनकपुरधामको चार किल्ला पनि तोकिएको राजपाका प्रमुख सचेतक परमेश्वर साहले बताए ।
फागुन महिनामा गरिने मिथिला माध्यमिकी परिक्रमाको सबै क्षेत्र र धनुषा पूरै जिल्लाका भूभागलाई राजधानीको रुपमा प्रस्ताव गर्ने राजपा संसदीय दलको बैठकबाट निर्णय गरिएको प्रमुख सचेतक साहले बताए । ‘मात्र जनकपुरधाम भनेर हुन्न जनकपुरको सीमा पनि हामीले तोकेका छौं,’ उनले भने, ‘अन्य क्षेत्रको पनि विकास हुन सकोस् भन्ने सोचेर राजधानीको नाम जनकपुर नै रहने तर त्यसको सीमा पनि परिभाषित गरिएको छ ।’
१५ दिनेसम्म चल्ने माध्यमिकी परिक्रमाका क्रममा नेपाल र भारतको समेत भूभागमा परिक्रमा गर्ने गरिन्छ । त्यसअन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र भंगहा नगरपालिकासँगै धनुषाका समेत विभिन्न स्थानीय तह पर्ने गर्छन् ।
राजपाको प्रस्ताव अनुसार नै प्रदेश सभाबाट निर्णय भएमा प्रदेश राजधानी धनुषा जिल्लाको पूरै भूभाग र मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत महोत्तरीका भूभाग समेत राजधानी अन्तर्गत पर्नेछ । नेपाली कांग्रेसले पनि आजै यस सम्बन्धमा निर्णय गर्नेछन् । कांग्रेसले नाममा मिथिला भोजपुरा र राजधानीमा जनकपुरधाम राख्ने यसअघि भन्दै आएका थिए ।

-rajdhani dainik

Write your Comment