Advertisement
SKIP THIS

साना किसान सहकारी मनहर्वाको ‘टोलटोलमा दर’

रातोघर

 १५ भाद्र २०७६, आईतवार २२:२०  मा प्रकाशित

बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था मनहर्वाले आफ्ना सदस्यहरुलाई टोलटोलमै दर खुवाएको छ । सामुहिक छलफल, अन्तरकृया र बार्षिक समिक्षा सहित बिभिन्न कार्यक्रम गरेर दर खाने ब्यवस्था मिलाईएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिइन् ।

गत ५ गतेबाट संस्थाले टोलटोलमा रहेका आफ्ना ३१ अन्तरसमुहको अगुवाईमा टोलटोलमै तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम जारी रहेको छ । संस्थाले समुह सदस्यको अनुपात ३ देखी १० हजार रुपैंया प्रति अन्तरसमुहमा आर्थीक सहयोग गरेको हो । उक्त रकममा सदस्यहरुले स्वईफुर्त थप रकम संकलन गरी कार्यक्रम गरेका अध्यक्ष खड्काले जानकारी दिइन्।

सदस्यहरुले संस्थाले छलफल, खानपिनसँगै सांगीतिक जमघट गर्ने वातावरण बनाई दिएर संस्थाले अविभावकत्व निर्वाह गरेको बताएका छन् । संस्थाले सदस्यहरुलाई संस्थागत गतिविधिका बारेमा सुशुुचित गर्नुका साथै संस्कृति जगेर्नामा सहयोग गरेर सदस्यको मन जितेको अन्तर समुह नं.७ श्रीपुरकी सदस्य मीना चौधरीको तर्क छ ।

त्यस्तै माईती टाढा भएका र विविध कारण माईत जान नपाउने महिला दिदिबहिनीहरुलाई संस्थाले जमघट गराई दर समेत ख्वाएकोमा खुःशी लागेको अर्की सदस्य आशा रानाले बताउंछिन् ।

साना किसान कृषि सहकारी संस्थाले बाराको जीतपुरसिमरा र कलैया उपमहानगरका ५ वटा वडामा २ हजार २ सय बढी महिला सदस्यहरुका विच कारोबार गर्दै आएको छ ।

संस्थाले कृषि कर्जा प्रदान गर्नुका साथै आफैं कृषि प्राविधिक नियूक्त गरी कृषि ब्यवसाय संचालन गर्दै आएको छ । सदस्यहरुलाई कृषिसँग संबन्धित विभिन्न तालिमहरु संचालन गर्नुका साथमा जैविक विषादी उत्पादन गरी विक्रि वितरण गर्दै आएको संस्थाकी उपाध्यक्ष फूल कुमारी बस्नेतको जानकारी छ ।

संस्थाले गतबर्ष करिब ३० करोडको बारोबारमा १ करोड ११ लाख २९ हजार मुनाफा गरेको जनाएको छ ।

Write your Comment