जीतपुरसिमरामा ११ जनालाई डेंगु ,रोग नियन्त्रणका लागी सरसफाई

रातोघर

 २७ भाद्र २०७६, शुक्रबार १५:१५  मा प्रकाशित

सिमरा । 

देशभर प्रकोपका रुपमा फैलिएको लामखुडेंगु रोगबाट बाराको जीतपुरसिमरा उपमहानगरका ११ जना प्रभाबित भएका छन् ।
जीतपुरका पाँच र सिमरा क्षेत्रका ६ गरि हालसम्म उपमहानगरभित्रका ११ जनामा डेंगुको लक्षण देखापरेको जीतपुरसिमर उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये उपमहानगरको वडा नम्बर सातको एकै परिवारका चारजना र वडा नम्बर चारको एकैपरिवारका दुईजनामा यो रोग देखा परेको छ ।

जीतपुरसिमरा सात जितपुरका ईश्याक अन्सारी, ब्यूटी कुमारीसिंह अन्सारी, ईम्तियाज अन्सारी र रिपत अन्सारीमा डेंगु देखा परेको छ । त्यस्तै वडा नम्बर चारका गोपाल घिमिरे र अनिता घिमिरे गरि एकै परिवारका दुईजनामा डेंगु प्रमाणीत भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख बाबुलाल सहनीले जानकारी दिए ।

त्यसैगरी सिमराका राजु राई, बिकास दाहाल, दिपेश कुमार उप्रेती, लक्ष्मण श्रेष्ठ र जीतपुरकी सोनी गौतममा पनि डेंगुको संक्रमण पुष्टी भएको सहनीले बताए । उनका अनुसार संक्रमितहरुको काठमाण्डौ, चितवन र वीरगञ्जका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगले उपमहानगरमा समेत माहामारीको रुप लिन थालेपछी नगरमा लाखुट्टे नियन्त्रण अभियान थालिएको छ ।

लामखुट्टे नियन्त्रणका लागी औषधी छर्ने काम शुक्रबार (आज) बाट सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख सहनीले जानकारी दिए । ‘औषधी छर्ने उपकरणको ब्यवस्था भैसकेको छ । आजबाट बस्तीमा जाने तयारी छ ।’ सहनीले भने ।

यता उपमहानगरको वडा नम्बर दुईको कार्यालयले पनि डेंगु संक्रमणलाई मध्येनजर गर्दै आज सरसफाई अभियान सञ्चालन गरेको छ । बिहान सात बजेदेखी वडा भित्रका बिभिन्न स्थानमा सरसफाई कार्यक्रम गरिएको वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले बताए ।

सो अभियानमा जनप्रतिनिधि सहित सामुदायिक बिद्यालयका शिक्षक, बिद्याथी लगाएतको सहभागीता थियो ।

 

-avi achrya

Write your Comment