फास्ट ट्रयाक क्षतिपूर्ति : बाराको कोल्हबीमा सेनाको वृक्षारोपण

रातोघर

 ४ आश्विन २०७६, शनिबार १७:४६  मा प्रकाशित

बारा, ४ असोज ।

राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका रुखहरुको क्षतिपूर्ति वापत नेपाली सेनाले वृक्षारोपण गर्ने कार्य शुरु गरेको छ ।

नेपाली सेनाको वृक्षारोपण कार्यदलले संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसर पारेर आजल शनिबार बाराको कोल्हबी ८ स्थित वृक्षारोपण शुरु गरेको हो ।

फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका करिव २० हजार रुखको बदलामा नेपाली सेनाले १ रुख बरावर २५ रुख रोप्ने सम्झौता बमोजिम करिव ५ लाख विरुवा रोप्न लागेको वृक्षारोपण कार्यदल निजगढ बाराका प्रमुख सेनानी सुशिलकुमार कार्कीले बताए ।

वृक्षारोपण कार्यको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, जिल्लामा रहेको डिभिजन वन कार्यालयसँग समन्वय गरी राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा रहेका खाली जग्गाहरुको पहिचान गरी १८८ हेक्टर क्षेत्रफल वृक्षारोपणका लागि सर्वे भईसकेको छ ।

आगामी दिनमा बारा र मकवानपुरमा आवश्यक पर्ने थप खाली जग्गाहरुको पहिचान र सर्भे गर्ने कार्य भईरहरेको सेनाले जनाएको छ ।

यसरी वृक्षारोपण गरिएको वन क्षेत्रमा तारजालीको व्यवस्था स्थानीय तह र डिभिजन वन कार्यालयले गर्ने र विरुवाको संरक्षण तथा सम्बद्र्धनको कार्य नेपाली सेनाले गर्ने छ । यसका लागि आवश्यक व्यवस्था मिलाईसकेको नेपाली सेनाले जनाएको छ ।

कोल्हबी नगरपालिका ८ को शान्ति टोलको उत्तरपटिको करिव ६ हेक्टर क्षेत्रफल वृक्षारोपणका लागि नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । विरुवा तथा अन्य प्राविधिक कार्य डिभिजन वन कार्यालयले गर्ने डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर महमदले बताए ।

निजगढ र कोल्बीमा गरी करिव १८८ हेक्टर खाली वन क्षेत्रको सर्वे सकिएको डिभिजन वन कार्यालयले जनाएकोे छ ।

बृक्षारोपण गरिएको हालको स्थान विभिन्न समयमा अतिक्रमित जमिन हो । उक्त अतिक्रमित जमिनलाई खाली गराई वृक्षारोपणमा सहयोग गरेको कोल्हबी ८ का वडाध्यक्ष सार्थक पौडेलले बताए ।

Write your Comment