जनकपुरमा दिनदहाडै गोली हानी हत्या

रातोघर

 ६ कार्तिक २०७६, बुधबार १४:३७  मा प्रकाशित

जनकपुरधाम, कात्तिक ६ गते ।

जनकपुरधाम उपमहानगरपालिका १४ मा बुधवार बिहान एक युवकलाई गोली हानेर हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलका अन्दाजी ३५ वर्षीय मनोज साहको हत्या गरिएको हो ।

विहान करिब साढे ९ बजे साह जनकपुरधाम उपमहानगरपालिका १४ स्थित पंकज चौधरीको घर पुगेका थिए । घरमै लेनदेनको विषयमा चौधरीसँग चर्चाचर्की भएको र लगत्तै चौधरीले पेस्तोल निकालेर गोली हानेको प्रत्यक्षदर्शी अमित साहले बताए । अमित पनि साहसँगै मोटरसाइकलमा पंकजको घर पुगेका थिए ।

चौधरीले साहलाई आफ्नो घरको मुलढोकामै दुई राउण्ड गोली छातीमा प्रहार गरेका थिए ।गोली लागेर ढोकैमा ढलेका साहलाई प्रहरीले प्रादेशिक अस्पताल प्रदेश २ जनकपुरधाममा लगेको थियो ।
गोली चलेलगतै मुजेलिया प्रहरी घटनास्थल पुगेर साहलाई अस्पताल पु¥याएका थिए । तर अस्पतालले छात्तिमा गोली लागेका साहलार्ई मृत घोषणा गरे । मृतक साह श्री बाबा पेट्रोल पम्प सपहीका संचालक हुन् । पेट्रोल लिएको र लामो समयसम्म रकम नदिएपछि उनी चौधरीको घर पुगेर रकम मागेका थिए ।

प्रहरीले गोली चलाउने चौधरीलाई पक्राउ गरिसकेको छ । घटनापछि छिमेकीको घरमा लुकेको अवस्थामा चौधरीलाई पक्राउ गरेको धनुषाका एसपी शेखर खनालले जनाए । पक्राउ परेका चौधरी ठेकेदार हुन् ।

पक्राउ परेका चौधरीको साथबाट एक थान अटोमेटिक पेस्तोल र घटनास्थलबाट पनि १ थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । अटोमेटिक पेस्तोलको गोली १९ राउण्ड र अर्को पेस्तोलको ३ राउण्ड गोली पनि बरामद भएको छ ।दुबै पेस्तोल लोड भएको अवस्थामा बरामद भएको एसपी खनालले बताए ।

चौधरीले डिजेल र पेट्रोल उधारोमा साहको पम्पबाट लिदै आएका थिए ।पेट्रोलियम व्यवसायीहरुका अनुसार साहसित केहि रकम चौधरीले सापटी पनि लिएका थिए ।

Write your Comment