सेनाद्धारा निजगढमा स्वास्थ्य शिविरको आयोजना,६ सय बढीले गरे स्वास्थ्य परिक्षण

रातोघर

 २१ कार्तिक २०७६, बिहीबार २१:००  मा प्रकाशित
२२० पाठक संख्या



सिमरा ।

ग्रामीण भेगका स्थानियलाई लक्षित गर्दै नेपाली सेनाले बाराको निजगढ नगरपालिका १० स्थित लालमा बिहिवार स्वास्थ्य शिविरको आयोजना गरेको छ । केहिदिनअघि क्लिन सोसाईटी नेपाल सिमराका अध्यक्ष श्यामबाबु गुप्ता सहित पत्रकार टोली र सेनाको टोली गुम्बामा अध्ययनरत बिद्यार्थीको स्वास्थ्य अवस्था बुझ्ना त्याँहा पुगेका थिए ।

त्याँहा अध्ययनरत बिद्यार्थी र स्थानियको बिग्रदो स्वास्थ्य अवस्था देखेपछी गाउँमा आज शिविरको आयोजना गरिएको हो ।
शिविरमा ६ सय भन्दा बढी स्थानियले स्वास्थ्य परिक्षण गराएका छन् । बिहिबार सेनाले स्थानिय संघसंस्थासंग समन्वय गरी बस्तीमा शिविर सञ्चालन गरेको हो ।

शिविरमा सेनाका चिकित्सकसहित स्थानिय अस्पतालका स्वास्थ्यकर्मीले स्थानियको स्वास्थ्य जाँच गरेका थिए । लालमा पछिल्लो समय छालासम्बन्धी समस्या देखिएको छ । स्थानिय गुम्बामा लामा भाषा अध्ययन गर्न बसेका बालबालिकाको टाउकोमा अनौठो घाउ देखिएको तीन महिना भईसकेको छ ।

एउटा बालकबाट सुरु भएको घाउ अन्यमा सर्न थालेपछि यतिबेला गुम्बामा अध्ययनरत अधिकांश बालबालिकामा उस्तै समस्या छ । गुम्बाका बालबालिकाको समस्या सुनेपछि सेनाले उनिहरुसहित स्थानियलाई लक्षित गरेर गाउमा शिविर राखेको हो । जाचपछि घाउ ईन्फेक्सनका कारण भएको बताउदै चिकित्सकले बालबालिकालाई औषधी उपलब्ध गराएका थिए ।

शिविरमा उपसेनानी डा. रक्षा भण्डारी राणासहित स्थानिय अस्पतालका चिकित्सक अभिषेक पटेल, निजगढ नगरपालिकाका स्वास्थ्यकर्मीले स्थानियको स्वास्थ्य जाच गरेका थिए । शविरमा सेनाले बालबालिकासंगै स्थानियको समेत स्वास्थ्य जाच गरेको थियो । स्थानियलाई लक्षित गर्दै सेनाले बस्तीमै पुगेर शिविरको आयोजना गरेपछि स्थानिय खुशी देखिएका थिए ।

नेपाली सेनाको २८ नम्बर बाहिनि अड्डा जीतपुर, सिद्धिबक्स गण आधाभार, चन्दननाथ गण कलैया, द्रुतमार्ग सडक निर्माण कार्यदल बेसक्याम्प निजगढले संयुक्त रुपमा शिविरको आयोजना गरेको थियो । शिविरलाई निजगढ नगरपालिका, क्लिन सोसाईटी नेपाल सिमरा र योङ स्टार युनाईटेड क्लबले सहयोग गरेका थिए । सोही अवसरमा सेनालेस्कुले बालबालिकालाई लक्षित प्रकृति संरक्षण सम्बन्धी चेतनामुलक कक्षा समेत संचालन गरेको थियो ।

सिद्धिबक्स गणका प्रमुख सेनानी प्रकाश थापाले स्वास्थ्य जाच र प्रकृति संरक्षणसम्बन्धी दुई महत्वपूर्ण कार्यक्रम लिएर सेना गाउमा आएको बताए । निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले सेनाले नागरिकको स्वास्थ्यप्रति चासो देखाएको भन्दै खुशी ब्यक्त गरिन् । क्लिन सोसाईटी नेपालका अध्यक्ष श्यामबाबु गुप्ताले शिविरलाई सेनासंगै अन्य संघसंस्थाले पनि निरन्तरता दिनुपर्ने बताएका थिए ।

Write your Comment